नेकपा एमालेको विवाद समाधान गर्न गठन गरिएको कार्यदलको बैठक आज पनि बस्दैछ ।
बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने एमाले अध्यक्ष केपी ओली पक्षबाट कार्यदलका संयोजक सुवास नेम्वाङले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको संयुक्त वक्तव्य प्रकाशन गर्ने सहमति हुन सक्ने बताइएको छ । उक्त बैठकमा संयुक्त वक्तव्यको खाका तयार हुने र त्यसपछि ओली–नेपालले सार्वजनिक गर्ने तयारी छ ।
रावलका अनुसार बैठकले पार्टी एकताका लागि महत्वपूर्ण सन्देश दिने तयारी गरेको छ ।
तर, अहिलेसम्म वक्तव्यको खाका भने बनिसकेको छैन । एमाले स्रोत भन्छ,‘अहिलेसम्म वार्ता सकरात्मक भइरहेको छ । यो बीचमा केही बिग्रिएन भने आज साँझसम्म संयुक्त वक्तव्य आउने सम्भावना धैरै छ ।’
गत जेठ २ गते गठन गरिएको कार्यदल बीचमा निष्क्रिय भएको थियो । असार २० गते ओली र नेपाल पक्षका नेता भीम रावलबीच भेटवार्ता भएको भोलिपल्टदेखि नै कार्यदल पुनः सक्रिय भएको छ । कार्यदलको बैठक हिजो पनि बसेको थियो ।
कार्यदलमा एमाले संस्थापन पक्षबाट नेम्वाङसहित, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट नेताहरु संयोजक रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।