काठमाडौं– फुटबल प्रतियोगितामा अनलाइनमार्फत् जुवा खेल्ने चार जना भारतीय नागरिकसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं–४ सुकेधारा बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं– १९ ढोकाटोल बस्ने ४७ वर्षीय जीवन लामा, बीरगञ्ज–७ पर्सा घर भई कुलेश्वर बस्ने ४६ वर्षीय सुरज टिवडेवाल, चितवन खैरहनी– ५ घर भई धापासी बस्ने ४५ वर्षीय गोविन्द प्रसाद आचार्य र विराटनगर– ७ घर भई हाल काठमाडौं मरुटोल बस्ने ४६ वर्षीय अमरनाथ गुप्ता, भारत हरियाना विवरनी घर भई हाल इन्द्रचोक बस्ने ४९ वर्षीय राजेश कुमार अग्रवाल, भारत बिहार पूर्वि चम्पारण, रक्सौल घर भई हाल कुलेश्वर बस्ने ४६ वर्षीय अशोक कुमार गुप्ता, भारत राजस्थान झुनझुन सुरजगढ घर भई क्षेत्रपाटी बस्ने ३३ वर्षीय सुचित डालमिया अग्रवाल रहेको प्रहरीले जनाएको छ ।
हाल युरोपमा जारी युरोकप र अमेरिकामा जारी कोपा अमेरिका कप फुटबलमा अनलाइनमार्फत् अवैधरुपमा बाजी राख्नेहरुबाट प्रहरीले सोमबार नगद र मोबाइलसहित पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले सोमबार काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाटबाट नगदी कारोबार समेत गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरिय प्रहरी कार्यालयका प्रवक्ता एसपी सुशिल सिंह राठौरले जानकारी दिए ।
आरोपितहरुलाई महानगरीय प्रहरी परीसर काठमाण्डौले मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम कसुरमा सजाय हुने गरी कारवाही शुरु गरेको जनाएको छ ।
उनीहरुले विभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको पैसा आइएमईबाट पठाइने र लिने प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीले जनाएको छ ।