चितवन । ११ दिनपछि शव भेटिएकी राप्ती नगरपालिका–३ झुरझुरेकी २२ वर्षिया सुजिता भण्डारीकोे अपहरणपछि हत्या भएको हुनसक्ने आफन्तले आशंका गरेका छन् ।
आफन्तले भण्डारीकोे अपहरणपछि हत्या भएको हुनसक्ने भन्दै अनुसन्धानको माग गरेका छन् ।
मृतक सुजिताकी आमा अम्बिकाले भनिन्, ‘आफू अपहरणमा परेको भन्दै फोन गरेर गुहार मागेकी छोरीलाई बचाउन सकिएन । छोरीको हत्यारा पत्ता लगाएर सजाय दिलाउन आवश्यक छ ।’
छोरी अपहरणका दिन आफूहरु धान रोप्न गएको र छोरीले दिउँसो आफ्नी दिदीलाई फोन गरेको उनले बताइन् । ‘घरवाट हराएकी छोरीले १२ बजे दिउँसो दिदीलाई कल गरिछे । आँखामा पट्टी बाँधेको छ, एसिड छर्केको छ, टाउकोमा हिर्काको छ, मलाई कता लगे कता, छिटो बचाऊ भनिछ नानीले । त्यसपछि गाउँघरमा सबैतिर गएर धेरै खोजीतलास भयो । नानी भेटिइनन्’ उनले भनिन् ।
प्रत्यक्षदर्शीहरुका अनुसार सुजिताको शव सडे गलेको अवस्थामा भेटिएको छ ।
सुजिताको हत्या नै भएको भन्दै स्थानीयले पनि घटनाको छानविन र दोषी उपर कारवाहीको माग गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।