निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।
आयोगले आगामी कार्तिक र मंसिरमा हुने प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको कार्यतालिका स्वीकृत गरेको हो ।
जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा भंग भएपछि सरकारले कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेको थियो । संसद् विघटनबारे हाल सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
तालिकाअनुसार असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ता समय तोकिएको छ ।
पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता गर्ने कार्यतालिका तयार भएको छ । असोज २० गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।
यस्तै दोस्रो चरणको निर्वाचनको उम्मेदवारी दर्ता असोज ३१ र कात्तिक १ मा गर्ने तयारी छ । ३१ गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र १ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने प्रारम्भिक तयारी छ ।