प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रिमण्डल गठन गर्दा केहि मन्त्रालयहरु आफैँसँग राखे। उनले आफुँसँग राखेका ७ वटा मन्त्रालयमध्ये गृह र सुचना तथा सञ्चार निकै आकर्षक मन्त्रालय मानिन्छ। यी दुई मन्त्रालय आकर्षकमात्र होइन उत्तिकै चुनौतीपुर्ण पनि छन्। विभिन्न दृष्टिकोणबाट महत्वपुर्ण मानिने यी दुई मन्त्रालयको जिम्मेवारी सम्हाल्न धेरै सांसदहरु लालयित देखिन्छन्। यी मन्त्रालय कसको भागमा पर्ला भन्ने चासो धेरैले राखेका छन् भने केहि सांसदहरुको नाम पनि चर्चामा छ।
तीनैमध्यका एक हुन्, नेकपा एमालेका सांसद तथा पुर्वमन्त्री महेश बस्नेत। प्रधानमन्त्रीको बिश्वाशपात्र मात्र नभई पछिल्लो समय देखिएको विभिन्न राजनीतिक चुनौतीहरुको सामना गर्न युवा नेता बस्नेतले निर्वाह गरेको भुमिकाकाे कारण उनको चर्चा हुनु स्वभाविक पनि हो। धेरैले अबको गृहमन्त्री बस्नेत हुन्छन् भन्ने अड्कलबाजी गरिरहेको अवस्था पनि छ। तर, स्वयम् बस्नेत भने यस बिषयमा के भन्छन?
शनिबार एक सञ्चारमाध्यममा अन्तरवार्ता दिने क्रममा बस्नेतले आफ्नो रोजाईबारे खुलाशा गरेका छन्। उनले आफुँले रोज्नु परेमा सुचना तथा सञ्चार मन्त्रालय नै रोज्ने बताएका छन्। सांसद बस्नेतले भने, ‘गृह मन्त्रालय भनेको एउटा पाटोमा भयो, सुचना तथा सञ्चार मन्त्रालय भनेको बहुआयामिक मन्त्रालय जस्तो लाग्छ।’
यद्दपी पुर्वमन्त्री बस्नेतले मन्त्रालयको जिम्मेवारी पाउनु र नपाउनुमा तात्विक भिन्नता नहुने बताए। ‘गृह मन्त्रालय र सञ्चार मन्त्रालयहरु भनेका टप प्रोफाइलका मन्त्रालयहरु हुन्। दुबै मन्त्रालयमा मेरो नाम आइरहने कुरा चाँहि भोली पाउँला नपाउला त्यसले मेरो जिवनमा त्यस्तो तात्विक अन्तर पार्दैन,’ उनले भने। सांसद बस्नेतले यहि मन्त्रालय पाउनुपर्छ भन्ने कुरामा आफ्नो चासो नरहेको बताउँदै पाएको जिम्मेवारी कुशलताका साथ निर्वाह गर्न सक्ने बताए। उनले सरकार मंसिरसम्म टिक्ने दावी गरे।