पुर्नगठित मन्त्रिपरिषदका नयाँ मन्त्रीहरुले शुक्रबार सपथ ग्रहण गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर समुहलाई सरकारमा सामेल गरे प्रधानमन्त्री केपी शर्मा ओलीले १७ सदस्यीय नयाँ मन्त्रिमण्डल गठन गरेका हुन।
पुर्नगठित मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री राख्दै अर्थमन्त्री विष्णु पौडेल, रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाइएको छ। उपप्रधानमन्त्रीत्रयमध्ये महासेठलाई परराष्ट्र र महतोलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्रीले सपथ लिए। शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया वन तथा वातावरण मन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन्। जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त भएकी छन्। गृहसँगै रक्षा, सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री ओलीले आफैँसँग राखेका छन्।