पुर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नयाँ मन्त्रिमण्डलमा सहभागी हुन अस्वीकार गरेका छन्। प्रधानमन्त्री ओलीले भने त्रिपाठीलाई मन्त्रिपरिषदमा सामेल गर्न चाहेका थिए। त्रिपाठीले नै सहभागी हुन अस्विकार गरेका हुन्।
उपप्रधानमन्त्रीमा राजनीतिक रुपमा आफूभन्दा जुनियर राजेन्द्र महतो, रघुवीर महासेठ र विष्णु पौडेललाई वरियता क्रममा माथि राखिएकाले आफुले मन्त्री पद अस्वीकार गरेको त्रिपाठीले बताए। ‘जुनियरहरू वरियताक्रममा माथि हुने भएपछि एक थान मन्त्री हुनलाई बसिराख्न मैले औचित्य ठानिनँ,’ त्रिपाठीले भने ‘पुनर्गठित मन्त्रिपरिषदलाई मेरो हार्दिक शुभकामना। उत्तरोत्तर प्रगतिको कामना गर्दछु।’
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी ९जसपा० नेपाललाई समाहित गरेर नयाँ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री छन्। जसमध्ये जसपाबाट ८ जना मन्त्री र २ जना राज्यमन्त्री बन्ने भएका छन्।
राजेन्द्र महतोको नेतृत्वमा जसपाको महन्थ ठाकुर समुह सरकारमा सहभागी हुने भएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गरेका छन्। उनले आफुँसँग ७ वटा मन्त्रालय राखेर बाँकी मन्त्रालयहरुको कार्यविभाजन गरेका छन्।