प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा जसपाको आगमनसँगै नेकपा एमालेकै तीन जना मन्त्रीहरु मन्त्रालयविहिन भएका छन्। सरकारमा सहभागी हुने जसपाले महिला बालबालिका मन्त्रालय, बन मन्त्रालय र भूमिव्यवस्था मन्त्रालय पनि लिने भएपछी ३ मन्त्रीले मन्त्रालय गुमाएका हुन्।
मन्त्रालयविहिन हुने मन्त्रीहरुमा महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा। शिवमाया तुम्बाहाम्फे रहेका छन्। जसपाले पाएको ८ मध्ये ५ मन्त्रालय हाल प्रधानमन्त्रीसँग छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका १० जनाले आज साँझ सपथ लिने भएका छन्। जसपाको महन्थ ठाकुर समुहबाट राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागेका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले साँझ ६ बजे सपथ लिने भएका हुन्। जसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमतिअनुसार पार्टीले सरकारमा सहभागी हुने १० जनाको नाम बुझाइसकेको छ।
मन्त्री बन्नेमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी रहेका छन् । उनीहरुले कुन–कुन मन्त्रालय पाए भन्ने जानकारी शपथग्रहणको समयमा गराउने कर्णले बताए।
स्रोतका अनुसार राजेन्द्र महतो (उपप्रधानमन्त्री तथा सहरी विकास), शरद सिंह भण्डारी (ऊर्जा तथा जलस्रोत), अनिल झा (खानेपानी तथा सरसफाई), लक्ष्मणलाल कर्ण (भूमि व्यवस्था तथा सहकारी), बिमल श्रीवास्तव (श्रम तथा रोजगार), उमाशंकर अरगरिया (वन तथा वातावरण), चन्दा चौधरी (महिला तथा बालबालिका), एकवाल मियाँ (युवा तथा खेलकूद), चन्द्रकान्त चौधरी (ऊर्जा राज्यमन्त्री), रेणुका गुरुङ (महिला बालबालिका राज्यमन्त्री)मा सपथ लिँदैछन्।