पार्टीको विधान विपरित काम गरेको भन्दै जनता समाजवादी पार्टी(जसपा) उपेन्द्र बाबुराम पक्षले महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई कारबाही गर्ने तयारी गरेको छ। ठाकुर–महतो पक्षले आफूखुशी महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाहीको तयारी भइरहेको हो।
जसपा सांसद रामबाबु यावदले शनिबार पत्रकारहरुसँग कुरा गर्दै पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भएपनि राजेन्द्र महतोलाई संसदीय दलको नेता विधान विपरित बनाइएकोले कारबाही गरिने बताएका छन्।
उनले ठाकुर–महतो पक्षले आफुहरुलाई विधानभन्दा माथि लान खोजेको आरोप पनि लगाए। संसदीय दलको नेता चयनको अनैतिक र गलत काम गरि प्रचार गरिएको यादवले जानकारी दिएका छन्। विधानभन्दा तलमाथि गर्नेलाई कारबाही गरिने उनको भनाइ छ।
शुक्रबार ठाकुर–महतो पक्षले १९ सांसदको हस्ताक्षर रहेको दाबी गर्दै राजेन्द्र महतोलाई जसपाको संसदीय दलको नेता बनाउने घोषणा गरेका थिए। वर्तमान परिस्थितिमा जसपा दुई धारमा विभाजित छ। एक धारको नेतृत्व बाबुराम भट्टराई र उपेन्द्र यादवले गरिररहेका छन् भने अर्को धारको नेतृत्व महन्थ ठाकुर र राजेन्द्र महतोले गरिरहेका छन्।
ठाकुर–महतो सरकारसँग नजिक छ भने भट्टराई यादव विपक्षी गठबन्धनसँग नजिक छ। पछिल्लो परिस्थिति हेर्दा जसपा पनि फुटको बाटोतिर अग्रसर देखिएको छ। उपेन्द्र समुहले यस्ताे चेतावनी दिए पनि महन्थ समुहले भने आगामी कदम के लिनेछ भन्ने खुलाइसकेको छैन।