काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया गरिमा चौधरीको हत्या घटनालाई लिएर प्रतिनिधिसभामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबारको बैठकमा सांसदहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका हुन्।बैठकमा सांसदहरूले पीडित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनु मात्र पर्याप्त नहुने भन्दै न्याय सुनिश्चित गर्न सरकार गम्भीर रूपमा अघि बढ्नुपर्ने बताएका छन्।नेपाली कांग्रेसकी सांसद प्रमिला कुमारी गच्छदारले बालिकाको ज्यानको क्षतिपूर्ति आर्थिक सहयोगबाट पूरा हुन नसक्ने धारणा राख्दै यस्ता जघन्य अपराधमा संलग्नलाई कडा सजायको व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्ने बताइन्।त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले अपराधको प्रकृति र गम्भीरताअनुसार दोषीमाथि कानुनी कारबाही हुनुपर्नेमा जोड दिइन्। महिला तथा बालिकामाथि हुने हिंसा रोक्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ थियो।बैठकमा सहभागी अन्य सांसदहरूले पनि बालिका तथा महिलामाथि हुने हिंसाका घटना नियन्त्रणका लागि सरकारलाई थप जिम्मेवार बन्न आग्रह गरे। पीडितले न्याय प्राप्त गर्न आन्दोलन वा दबाब सिर्जना गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने उनीहरूको भनाइ थियो।सांसदहरूले बलात्कारसम्बन्धी मुद्दामा रहेको हदम्यादबारे पुनरावलोकन गर्न, गम्भीर अपराधका मुद्दा छिटो टुंग्याउन फास्ट ट्र्याक अदालतको व्यवस्था गर्न तथा अनुसन्धान प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउन माग गरेका छन्। त्यसका लागि आधुनिक फरेन्सिक सुविधा र दक्ष अनुसन्धान जनशक्ति विस्तार गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्।यसअघि गरिमा चौधरीका परिवार र सरकारबीच जघन्य अपराधसम्बन्धी कानुनी व्यवस्थामा पुनरावलोकन गर्ने विषयमा छलफल भएको थियो। सो क्रममा कानुनी सुधारका लागि सात सदस्यीय समिति गठन गर्ने लगायतका विषयमा सहमति बनेको बताइएको छ।