विपक्षिहरुलाई आफ्नै पार्टीको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सघाइरहेको भन्दै नेकपा एमालेले माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुलाई कारवाही गर्ने तयारी गरेको छ।
एमाले महाधिवेशन कमिटीको आज बसेको आकस्मिक बैठकमा माधव–झलनाथ समुहका नेताहरुमाथि कारवाही गर्ने छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। ‘महाधिवेशन आयोजक कमिटीको बैठकअघि स्थायी समिति बैठकमा माधव पक्षका सांसदहरुलाई कारवाही गर्ने विषयमा छलफल भएको छ,’ ती नेताले भने।
आइतबार १० बजेका लागि बोलाएको आयोजक समितिको बैठकअघि बालुवाटारमा स्थायी समिति बैठक बसिरहेको छ। बैठकले माधव नेपाल, भीम रावलसहित निलम्बित चार र अन्य थप सांसदमाथि समेत कारवाही गर्ने तयारी गरेको छ।
शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २ सय ६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो। बैठकले माधव–झलनाथ पक्षलाई अलग राखेर पार्टीको स्थायी समिति गठन गरिएको थियो।
यस्तै २७ जना संघीय सांसदमाथि सोधिएको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी समितिलाई दिइएको थियो। तर अविश्वास प्रस्तावका पक्षमा उभिने नेपाल पक्षले प्रतिबद्धता जनाको भन्दै आयोजक कमिटीकै बैठकबाटै निर्णय लिन लागिएको हाे।