काठमाडौँ, ५ फागुन – वीरगन्जमा शनिबार एकै मञ्चमा सहभागी भएका कोइराला परिवारका कांग्रेसका तीनजना शीर्ष नेताले आफूहरु एक भएको उद्घोष गरेका छन्। कांग्रेस महामन्त्री शंशाक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालाले आफूहरुबीच अब कुनै मतभेद र विवाद नरहेको बताए।
कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापतिका लागि कोइराला परिवारबाटै उम्मेद्वारी पर्ने चर्चा चलिरहेका बेला शनिबार वीरगन्जमा आयोजित कार्यक्रममा कोइराला परिवारका तीनैजना नेताले आफूहरु एक भएको दावी गरेका हुन्।
कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला फाउन्डेसन पर्साले शनिबार वीरगन्जमा आयोजना गरेको कार्यक्रममा कोइराला परिवारका तीनैजना नेताले पार्टी नेतृत्वको आलोचना पनि गरे। अहिलेको पार्टीभित्र नेताहरुबीच गुटउपगुट रहेको र पार्टी सभापति शेरबहादुर देउवाले पनि आफ्नै गुट चलाएकाले पार्टी कमजोर बनेको आरोप उनीहरुको थियो।
कार्यक्रममा जिपी कोइराला फाउन्डेसनकी केन्द्रीय अध्यक्ष समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले कांग्रेसमा कोइराला परिवार एक भएको बताइन्।
कांग्रेस महामन्त्री शंशाक कोइराला र शेखर कोइराला पनि पार्टीभित्र गुटउपगुट मौलाएको र नेतृत्वमा राजनीतिक संस्कार ह्रास हुँदै गएकाले कांग्रेस कमजोर बनेको आरोप लगाए। महामन्त्री शशांकले कांग्रेसलाई मजबुत बनाउन आफूले जे गर्नुपर्छ त्यो गर्न तयार रहेको भन्दै कार्यकर्ताले साथ दिएको खण्डमा आफू पार्टीको नेतृत्व सम्हाल्न तयार रहेको पनि पाए।
केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको नेतृत्वमा राजनीतिक नैतिकता र संस्कार हराउँदै गएको र व्याक्तिवादी चरित्र र स्वार्थ रहेको बताए। नैतिकता र संस्कारबिनाको राजनीति पनि एक किसिमको अपराध भएको उनको भनाइ थियो। यो समाचार अन्नपूर्ण दैनिकले छापेको छ।