नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई एकैतिर फर्काइदिने बताएका छन्। ललितपुरको धोबीघाटमा बुधबार आयोजित कार्यक्रमका बीच उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय घोषणा गर्दै दुवैलाई मिलाउन अधिकतम प्रयास गर्ने बताएका हुन्।
आफ्नो अभियानमा प्रचण्ड र ओलीले ‘म जान्नँ’ भन्न नसक्ने अवस्था नहुने उनले बताए। यदि पार्टी एकीकरणबाट विमुख भए ओली र प्रचण्ड सैनिकबिनाको सेनापतिजस्तो हुने पनि गौतमले बताए। यदि वैशाख १७ र २७ गते चुनाव भइहालेमा आफूलाई मन पर्ने व्यक्तिलाई भोट हाल्न पनि गौतमले नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
त्यस्तै पार्टी विभाजनका लागि केपी शर्मा ओली र पुष्कमल दाहालको बराबर जिम्मेवार रहेको बताएका छन्। पार्टीमा जुटाउनेभन्दा पनि फुटाउने गतिविधि धेरै भएको पनि उनले बताए। गौतमले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री ओलीको इज्जत बढ्ने बताए।