काठमाडौँ । श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथां पूर्वपर्यटनमन्त्री सुदन किरातीले जनताको जीवनस्तर सुधार गर्न नसक्ने सरकार र शासनको कुनै अर्थ नरहने बताएका छन्। इलाममा आयोजित जनहातेमालो भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले आफूहरू सत्ता र पदका लागि नभई श्रम तथा उत्पादनमार्फत जनताको जीवनस्तर परिवर्तन गर्ने अभियानमा रहेको स्पष्ट पारे। देशको आर्थिक अवस्था सुधार गर्न उत्पादन बढाउनुपर्नेमा जोड दिँदै उनले ठूला प्रविधि बनाउन नसके पनि कृषि उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने धारणा राखे।
सम्बोधनका क्रममा किरातीले सरकारी पोसाक लगाएर श्रमदाताहरू खेतबारीमा जाने र उत्पादन बढाउने अभियान चलाइने जानकारी दिए। किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चित गर्न कम्पनी निर्माण गरी उचित मूल्यको ग्यारेन्टी गरिने दाबी उनले गरे। नेपाल विकासमा पछि पर्नुको मुख्य कारण विज्ञान र प्रविधिलाई आत्मसात् गर्न नसक्नु रहेको उल्लेख गर्दै किरातीले सीप र श्रम गर्ने मानिसलाई सम्मान गर्न नसक्दा समाज अघि बढ्न नसकेको टिप्पणी गरे।
वर्तमान सरकारको कार्यशैलीप्रति व्यङ्ग्य गर्दै किरातीले सरकारको चाबी एम्बुलेन्स चालकको हातमा परेको जस्तै भएको टिप्पणी गरे। ट्राफिक लाइट र नियम नहेरी जता बाटो खाली देख्यो उतै कुद्ने चालक जस्तै सरकार चलेको आरोप लगाउँदै उनले श्रम संस्कृति पार्टी भने सबैलाई मिलाएर र नियम मानेर चल्ने बसको चालक भएको दाबी गरे। आफूलाई मुख्यमन्त्री बनाउने प्रस्ताव आए पनि पदभन्दा जनताका समस्या समाधान गर्नु आफ्ना लागि महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
श्रम संस्कृतिलाई कमजोर बनाउन विभिन्न शक्तिहरू सक्रिय रहेको दाबी गर्दै नेता किरातीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई त्यस्ता गतिविधिबाट सचेत रहन आग्रह गरे। आफूहरू गन्तव्यमा पुगेरै छाड्ने दृढता व्यक्त गर्दै उनले पछाडि फर्किने समय नरहेको स्पष्ट पारे।