काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिने भएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेनले दिने कार्यक्रम रहेको छ।
बैठकमा प्रधानमन्त्री बालेनले प्रश्नोत्तरका साथै मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१÷८२ समेत सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच सम्पन्न दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।
यसअघि भदौ १ गतेको संसद् बैठकमा प्रतिपक्ष दलहरूले जनाएको विरोधप्रति ध्यानाकर्षण गराउँदै सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गरेका थिए। सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदहरूले उठाएका जिज्ञासा तथा प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएबमोजिम उनी आजको बैठकमा उपस्थित हुन लागेका हुन्।