काठमाडौँ । बागमती प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेतृत्वको सरकार जोगिएको छ। मुख्यमन्त्री किरण थापाले मंगलबार बसेको प्रदेश सभा बैठकमा बहुमत सांसदहरूको समर्थनसहित विश्वासको मत प्राप्त गरेका छन्। मतदानमा सहभागी ५७ जना सांसदहरूले मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेका थिए भने उनको विपक्षमा एक मत पनि खसेन।
बागमती प्रदेश सभामा सरकार कायम राख्न तथा बहुमत सिद्ध गर्नका लागि कुल ५३ जना सांसदको समर्थन आवश्यक पर्ने कानुनी व्यवस्था छ। प्रदेश सभामा एमाले र नेपाल कम्युनिस्ट पार्टीका गरी कुल ५१ जना सांसद रहेका छन्। मुख्यमन्त्री थापालाई बहुमत पु¥याउन आवश्यक थप मत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूबाट प्राप्त भएको हो।
विश्वासको मत विभाजन प्रक्रियाका क्रममा नेपाली कांग्रेसका सांसदहरूले भने मतदान पूर्ण रूपमा बहिष्कार गरेका थिए। त्यसैगरी राप्रपाका केही सांसदहरूले मुख्यमन्त्रीको पक्षमा मतदान गरी सरकारलाई समर्थन जनाएका थिए भने अन्य केही सांसदहरूले मतदान प्रक्रिया बहिष्कार गर्दै तटस्थ बसेका छन्।