काठमाडौं, ३ फागुन – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भ्रातृ संगठनको एकता प्रक्रियामा ढिलाई भइरहेको छ। गृहमन्त्री एवं नेकपाका प्रभावशाली नेता रामबहादुर थापाको नेतृत्वमा रहेको कार्यदलले एकता प्रक्रियालाई औपचारिक रुप दिने भनिएपनि उक्त कार्यले अझै पनि गति लिन सकेको छैन।
सरकार गठनको एक वर्ष र एमाले–माओवादी एकता घोषणाको ९ महिना बित्दा पनि पार्टीको पूर्ण एकता हुन सकेको छैन। यस्तै बेहाल दुवै पार्टीका विद्यार्थी संगठन तथा युवा संगठनको पनि छ। पार्टी तथा भ्रातृ संगठनबीचको एकताले मुर्त रुप लिन नसक्दा पार्टीले लिने वैचारिक एवं सैद्धान्तिक दिशामा समेत अलमल देखिएको छ।
‘आन्तरिक रुपमा तयारी भइरहेको छ, दुवै पार्टीबीचको एकताले चाँडै नै मुर्तरुप लिने छ,’ केही समयअघि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली पब्लिकसँग भनेका थिए।
तर, जेठ ३ गते पार्टी एकता गरेको नेकपाले ९ महिनासम्म पनि भ्रातृ संगठनको एकताको ठोस र निर्णायक पहल गरेको छैन।
नेकपाको एकता घोषणासँगै भदौ १५ गतेभित्रै दुवै पार्टीका भ्रातृ संगठनको एकता सक्ने गरी रामबहादुर थापाको नेतृत्वमा कार्यदल गठन गरिएको थियो।
अहिले यो कार्यदल समेत दिशाविहीन अवस्थामा पुगेको छ। कार्यदलले गरेको कामका सम्बन्धमा प्रश्न गर्दा कार्यदलका सदस्य योगेश भट्टराईले अहिलेसम्म उल्लेखनीय काम नभएको र यो अलपत्र अवस्थामा रहेको बताए।
भ्रातृ संगठनले आफ्नो काम गरे, पार्टीबाटै ढिलाई
पार्टी एकतापछि अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी तथा युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल)को एकताका लागि कार्यदल निर्माण गरिएको थियो। दुवै पार्टीका भ्रातृ संगठनका इञ्जार्च र अध्यक्ष रहेको कार्यदलले पार्टीलाई आफ्नो प्रतिवेदन समेत जिम्मा लगाइसकेको छ।
अनेरास्ववियुकी अध्यक्ष एवं सांसद नवीना लामाले पार्टीका विद्यार्थी संगठनको औपचारिक रुपमा एकता घोषणा गर्न मात्र बाँकी रहेको बताइन्। ‘अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबीचको एकताका लागि बनाएको कादलले आफ्नो काम सकेको छ,’ अध्यक्ष लामाले भनिन्, ‘अब पार्टीको कार्यदलले एकताको घोषणा गर्छ।’
[caption id="attachment_15667" align="alignnone" width="830"]
नवीना लामा।[/caption]
एकता प्रक्रियालाई भदौमै अन्तिम रुप दिने आशामा उत्साहित भएका दुवै संगठनका विद्यार्थीहरु एकताको घोषणा कुरेको कुर्यै छन्। नेकपाद्वारा एकताका लागि गठित कार्यदलले चाँडै छलफल गरेर विद्यार्थी संगठनको एकताको विषयमा निर्णय गर्ने अपेक्षा व्यक्त गर्छन् अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ।
[caption id="attachment_15666" align="alignnone" width="830"]
रञ्जित तामाङ।[/caption]
‘पार्टीले नै टुंग्याउने भएकाले यसबारे औपचारिक छलफल भएको छैन। मात्रै यति हो, अनेरास्ववियू दीर्घ लेख्ने, अनेरास्ववियुबाट २ सय ६० र अनेरास्ववियु क्रान्तिकारीबाट २ सय ३९ जना सहभागी गराएर केन्द्रीय कार्यसमिति बनाउने सहमति भइसकेको छ,’ अध्यक्ष तामाङले भने, ‘साथै संगठनको झण्डा र विधान परिमार्जन गरी हामीले बुझाइसकेका छौं।’
एकीकृत विद्यार्थी संगठनको नेतृत्व कसले पाउला?
अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको एकता घोषणासँगै एकताको महाधिवेशनसम्म नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि विद्यार्थीमाझ विशेष चासो छ। विसं २०७२ साल फागुन पहिलो साता सम्पन्न २२औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित नवीना लामाले अहिले अनेरास्ववियुको नेतृत्व गरिरहेकी छिन्।
त्यसैगरी, २०७४ साल भदौमा सम्पन्न २१औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित रञ्जित तामाङले अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व गरिरहेका छन्। अब दुई विद्यार्थी संगठनको एकतापछि गठन हुने अनेरास्ववियूको ‘एकताको राष्ट्रिय सम्मेलन’सम्मका लागि संयोजक तय गरिने छ। जसमा अनेरास्ववियुकी अध्यक्ष लामा र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष तामाङ स्वतः दावेदार हुन्।
वरिष्ठताको आधारमा संयोजक चयन गर्ने विषयमा यसअघिको कार्यदलको बैठकमा छलफल भएको थियो। अर्कोतर्फ दोहोरो कार्यकारी भूमिकामा एउटै व्यक्ति नराख्ने निर्णय नेकपामा भएकाले लामा संयोजक नहुने पक्कापक्की जस्तै छ।
प्रतिनिधिसभा सांसद रहेकी लामाले आफूलाई अध्यक्ष पदमा बस्ने कुनै इच्छा नरहेको प्रष्ट पार्दै भनिन्, ‘म बाध्यताले मात्रै अध्यक्षमा बसिरहेकी छु, दुई संगठनको एकता गरेर कुशल व्यक्तिलाई नेतृत्व सुम्पनु पर्छ।’
लामा पनि नेतृत्व हस्तान्तरणका लागि मानसिक रुपले तयार देखिन्छिन्। उनी भन्छिन्, ‘अनेरास्ववियूको नेतृत्व एउटा योग्य र सक्षम व्यक्तिको हातमा जाओस् भन्ने मेरो चाहना हो।’
एकताको राष्ट्रिय सम्मेलनसम्म अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङलाई नै संयोजक बनाएर जानु सबैभन्दा उपयुक्त हुने लामाले बताइन्। ‘एकतापछि संगठन एउटै हुन्छ, सक्षम, सशक्त र वैचारिक रुपमा योग्य व्यक्तिलाई नेतृत्व दिनुपर्छ, अहिलेलाई रञ्जितजीलाई जिम्मेवारी दिएर जाँदा राम्रो हुन्छ,’ लामाले प्रष्ट रुपमा भनिन्, ‘नयाँ निर्वाचित नेतृत्व आगामी एकताको राष्ट्रिय सम्मेलनबाट चुनिने छ।’
युवा नेतृ लामाको यो प्रष्ट विचारबाट अब एकीकृत अनेरास्ववियूको भावी नेतृत्वका सम्बन्धमा कुनै द्विविधा देखिँदैन। यद्यपि, अनेरास्ववियुबाट करिब–करिब अलग्गिसकेकी लामाको यस विचारलाई संगठनका अन्य विद्यार्थी नेताहरुले कत्तिको सकारात्मक रुपमा लिन्छन्, त्यसैमा यसको सार्थकता देखिन्छ।
नेकपाको भ्रातृ संगठन एकता कार्यदल पनि आगामी राष्ट्रिय सम्मेलनसम्म दुई अध्यक्षमध्ये एक जनालाई संयोजक बनाएर जान सकारात्मक देखिएको छ।
कार्यदलका एक सदस्य एवं नेकपाका नेता बेदुराम भुषालले दुई अध्यक्षमध्ये एक जनालाई जिम्मेवारी दिन सकिने बताए। ‘तर, कसलाई नेतृत्व दिने भन्ने विषयमा अहिले टुंगो लागेको छैन, अध्यक्षद्वय लामा र तामाङमध्ये एक जनालाई नेतृत्व दिन सकिन्छ, अरु कोही आउन पनि सक्छ, पार्टीले छलफलबाट निष्कर्ष निकाल्ने छ,’ भुषालले भने।