एजेन्सी - भारतको तेलंगना राज्य सरकारले लकडाउनको अवधि आगामी मे ७ तारिखसम्म लम्ब्याएकाे छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनकाे अवधि थप गर्ने निर्णय गरेकाे तेलंगना राज्यका मुख्यमन्त्री के चन्द्रशेखर रावले जानकारी दिए ।
मुख्यमन्त्री रावका अनुसार, लकडाउनकाे अवधिमा खाद्यान्न, औषधि लगायतका अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग कलकारखाना तथा अत्यावश्यक वस्तु विक्रि वितरण गर्ने पसलहरु भने खुला रहने छन्।
यसअघि भारतकाे केन्द्र सरकारले लकडाउनकाे अवधि मे ३ सम्म लम्ब्याउँदै राज्य तथा स्थानिय तहमा चेकजाँज थप कडा बनाउने निर्णय गरेकाे थियाे । केन्द्र सरकारकाे निर्णय पछ्याउँदै तेलंगना राज्य सरकारले पनि मे ७ सम्म लकडाउन लम्ब्याएकाे हाे ।
मुख्यमन्त्री रावले तेलंगना राज्यमा बाहिरबाट आएर बसोबास गरिरहेका आप्रबासीहरुमध्ये परिवारमा बस्नेहरुका लागि प्रतिपरिवार १ हजार ५ सय भारतीय रुपैयाँ र एक्लै बस्नेका लागि खाद्यान्न उपलब्ध गराइने घाेषणा पनि गरे । साथै उनले आफ्नाे राज्यमा काम गरिरहेका प्रहरीहरुको तलबमा पनि १० प्रतिशत बृद्धि गरिएकाे बताएका छन्।
तेलंगना राज्यमा काेभिड १९ का कारण हालसम्म ८ सय ५८ जना संक्रमित भएका छन् भने २१ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ सय ८६ जना निको भएर घर फर्किएका छन् ।