कास्की– १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा साविक विजेता रुस्लान थ्री स्टार क्लब र विभागीय टिम नेपाल पुलिस क्लब भिड्दै छन्। खेल पोखरा रंगशालामा दिउँसो ३ बजे शुरु हुनेछ।
अघिल्लो संस्करणको फाइनल खेलमा त्रिभुवन आमीलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै उपाधि जितेको थ्री स्टार पुलिसलाई पराजित गर्दै फाइनलमा पुग्ने दाउमा छ। त्यस्तै छ पटक उपाधि जितिसकेको पुलिस थ्री स्टारविरुद्ध लिगमा भोगेको हारको बदला लिँदै फाइनल प्रवेश गर्ने सोचमा छ।
युवा खेलाडीहरुले भरिपूर्ण दुवै टिमबीचको खेल रोमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। थ्री स्टारले गान्तोक सिटी एफसी सिक्किमलाई तथा पुलिसले आयोजक सहारा क्लब पोखरालाई हराउँदै सेमिफाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा भने बिहीबार त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्नेछन्।