काठमाडौं, १ फागुन – जनयुद्वका घाईते, अपाङ्ग तथा बेपत्ता व्यवस्थापन समितिले सरकारले आफुसँग गरेका सम्झौता कार्यान्वयन नगरेको गुनासो गरेको छ। समितिद्वारा २४औँ जनयुद्व दिवसको अवसरमा रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रम सरकारले आफूहरुसँग भएका सम्झौता तत्काल लागू गर्न सचेत समेत गराएको छ।
समितिले मेडिकल बोर्ड तथा शान्ती समितीकोे सिफारिशमा परेका घाईतेहरुलाई तत्काल उपचारार्थ विदेश पठाईनुपर्ने, घाईते परिषद तत्कालै खारेज गरि जीवन निर्वाह भत्तासहित सामाजिक सुरक्षामा वृदि हुनेगरि तत्काल नयाँ समितीको गठन हुनुपर्ने, घाईतेहरुले पेष गरेको बिल भरपाई तुरुन्त लागू गर्नुपर्ने र राज्यले प्रदान गर्नुपर्ने गणतान्त्रिक सेनानी कार्ड तत्कालै वितरण गर्नुपर्ने लगायतका मागहरुमा ध्यान दिन सरकार समक्ष माग गरेको हो।
कार्यक्रममा बोल्दै जनयुद्वका शहिद परिवारका सदस्य ज्योती किरण रिजालले प्रचण्डले मनाएको जनयुद्ध दिवसको कुनै औचित्य नरहेको बताएका छन्। दलाललाई खुशी पार्ने यस्ता कार्यक्रमले वास्तविक पीडितहरु मारमा परेको उनको भनाई थियो।
क्रान्तिको विचारलाई बिर्सेर गरेको कार्यक्रम खारेज भएको घोषणा गर्दे उनले विप्लव र प्रकाण्डले देशमा आगो बालेको दिन कुन दिवस मनाउने हो तयार हुनसमेत चेतावनी दिएका छन्।
उनले भने, ‘सत्तामा पुग्न बाटोमा गुच्चा खेलमा जितेर आएका होईनौँ, हाम्रा परिवारका सदस्यहरुको लासमा टेकेर तपाई प्रधानमन्त्री बन्नुभएको हो।’ उनले पार्टीका उच्च तहका नेताहरुको स्वर्गको बसाई धेरै दिन नटिक्ने जिकीरसमेत गरेका छन्। ‘सेल्टरमा खाना देखि रगत दान गर्नेहरुको रगतले नेताहरुलाई कुनै दिन अवश्य सराप्ने छ’–उनले आक्रोश पोखे। आजको उपलब्धि क्रान्तिको उपलब्धि नभई बेईमानीको पराकाष्ठा भएको रिजालको आरोप थियो।
कार्यक्रममा बोल्दै जनयुद्वका घाईते रमेश कालिकोटेले सरकारले आफुहरुको माग प्रति देखाएको उदासहीनताको माथि गम्भीर आक्रोश पोखे। उनले भने, ‘हाम्रा मागहरु पूरा नगरी जनयुद्व दिवश मनाएकोमा आपत्ति छ।’ सरकारले घाईते तथा शहीदहरुको रगतको मसिले लेखिएको गणतन्त्रमा आफूहरुलाई अधिकारविहीन बनाएको उनको आरोप छ।
सरकारले विशाल सभा गरेर जनयुद्व दिवश मनाईरहदा जनयुद्वका प्रत्यक्ष योद्वाहरु अझै शरिरभरि क्रान्तिको निशाना र पीडा बोकेरै बाँचिरहेको पनि उनले बताए। उनले भने, ‘हाम्रै बलिदानले देशमा परिवर्तन आएको होईन र? किन हामीलाई बलिदानको उपहारमा आज गृहमन्त्रालय प्रवेशमा रोक लगायौँ ?’
कालिकोटेले आफ्ना मागहरुको बारेमा सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन्। उनले भने, ‘हाम्रा मागहरुको सम्बोधन हुनुपर्छ। यदि सम्बोधन भएन भने हामी देशभरी रहेका हजारौँ जनयुद्व पीडितहरु संघर्षको कार्यक्रममा उत्रिन बाध्य हुन्छौँ।’ उनले देशले खोजेको परिवर्तन न्याय र समृद्व अधिकारको लागि भएको तर अधिकारका लागि लड्ने आफूहरुलाई नै आज अधिकारविहीन बनाईएको गुनासो पोखे।
सरकारले आज पीडितको नाममा मनाएको दिवश आफुहरुको निमित्त कालो दिन भएको उनले धारणा राखेका थिए। उनले भने, ‘हाम्रो समस्याका बारेमा स्वास्थ मन्त्रालयमा जानकारी गराउन खोज्दा पार्टी कार्यालयमा गएर धर्नामा बस भन्ने मन्त्री कसको बलिदानले पदको लाभमा बसेका हुन?’
कार्यक्रममा बोल्दै घाईते अपाङग तथा बेप्पत्ता संघ ३ नं प्रदेश संयोजक तथा दोरम्भा घट्नाका प्रत्यक्षदर्शी मोहन कुमार योङजोङले हिजो साम्यवादको नारा लगाएर परिवर्तनको खोजीमा हिँड्ने पार्टीले आज आफूहरुको पीडा नसुनेको आरोप लगाएका छन्।
सरकार दुई तिहाईको दम्भ देखाउनमा व्यस्त रहेको तर आफूहरुको कुरा नै नसुनेको आक्रोशसमेत उनले पोखे। उनले मन्त्रालयमै विष सेवन गर्दा पनि सरकारले पीडा नदेखेकोमा दुःख व्यक्त गरे। उनले भने, ‘हामीले खान, लाउन मागेका होईनौँ, क्रान्तिले तहसनहस पारेकोे हाम्रो स्वास्थ्य उपचारको व्यवस्थाको अधिकारको खोजी गरेका हौँ।’
कार्यक्रममा महिला नेतृ बिनिता दाहालले देशको लागि प्राणको आहुती दिने शहीदको राज्यले अपहेलना गरेको गुनासो पोखेकी छिन्। उनले भनिन्, ‘एकाध व्यक्तिको प्रगति देखेर हाम्रा सपना पूरा हुँदैनन, आजको दिन ती महान शहीदहरुको हो, जसले आफ्ना विचार बेचेनन्।’ राज्यले आफुहरुलाई गैर–जिम्मेवारीपुर्ण व्यवहार देखाएकोमा बलिदानको अर्थमा ध्यान दिन सरकारसमक्ष आग्रह गरेकी थिईन।