एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिससँग रियल मड्रिड स्तब्ध भएको छ। गएराति भएको खेलमा मड्रिड बेटिससँग २–१ गोलले पराजित भएको हो। पराजित भएसँगै मड्रिडले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ।
घरेलु मैदानमा भएको खेलमा बटिसले १२ औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो। उसको लागि सिड्नेइले गोल गरेका थिए। प्रतिस्पर्धातमक खेलको पहिलो हाफको इन्जुरी समयमा मड्रिडले पेनाल्टी पायो। पेनाल्टीमा गोल गर्दै करिम बेन्जेमाले मड्रिडलाई खेलमा फर्काए।
त्यस्तै खेलको दोस्रो हाफको ८२ औ मिनेटमा बेटिसका क्रिस्टियन टेलोले गोल गर्दै घरेलु टोलीलाई पुनः अग्रता दिलाए। उनले एन्ड्रिस गुर्डाडोको पासमा गोल गरेका थिए। त्यसपछि खेलमा अन्य गोल निस्कन नसक्दा मड्रिड पराजित हुन पुग्यो। मड्रिड पराजित भएसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले मड्रिडसँग २ अंकको अग्रता बनाएको छ।