पोखरा– मनाङ मस्र्याङदी क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार झापा–११ फुटबल क्लबमाथि १–० को साँघुरो अन्तरको जित निकाल्दै मनाङ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्न सफल भयो।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएकामा खेलको ७६औँ मिनेटमा अन्जन विष्टको गोलमार्फत मनाङले खेलमा अग्रता लियो। मैदानको दायाँ भागबाट आएको बललाई विष्टले डिबक्स नजिकबाट दोस्रो बारमा प्रहार गरेको बलले जाली चुमेको थियो। खेलमा विष्टको एक मात्र गोल नै निर्णायक बन्यो र झापा प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरियो। सेमिफाइनलमा अब मनाङले त्रिभुवन आर्मी क्लब र सङ्कटाबीचको खेलको विजेतासँग खेल्नेछ।
खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका प्राप्त गरे पनि सदुपयोग गर्न सकेनन्। पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा झापाका सुनिल खड्काको शक्तिशाली प्रहारलाई मनाङका गोलकिपर अशोक बरालले मुस्किलले पञ्च गरेर बाहिर फालेका थिए।
नियमित समयको अन्तिम मिनेटमा मनाङका फरवार्ड विमल रानाले ‘वान भर्सेस वान’ को अवस्थामा गोल गर्न असफल भएका छन्। खेलमा निर्णायक गोलकर्ता मनाङका विष्ट ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु पाँच हजार तथा ट्रफी पुरस्कार प्राप्त गरेका छन्। खेलपछिको पत्रकार सम्मेलनमा पराजित टोलीका प्रशिक्षक सन्तोष गुरुङले टोलीका सरोज कार्की, अङ्कुर तामाङ र प्रमोद चौधरी घाइते भएकाले प्रदर्शनमा असर पुगे पनि समग्रमा खेल राम्रो रहेको प्रतिक्रिया दिएका छन्।
मनाङका विदेशी प्रशिक्षक फुजा टोपेले खेलमा जित हात पारे पनि खेलाडीको खेलबाट आफू सन्तुष्ट हुन नसकेको बताएका छन्। धरानमा खेलेको पाँच दिनपछि पोखरामा खेल्न आएकाले खेलाडीलाई अभ्यास नहुँदा प्रदर्शन सोचेअनुसार नभएको उनको भनाइ थियो। प्रतियोगिताअन्तर्गत सोमबार थ्रीस्टार क्लब र गान्टोक सिटी फुटबल क्लबबीच खेल हुने आयोजकले जनाएको छ।रासस