एजेन्सी– आइसीसी महिला विश्वकप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि अस्ट्रेलियाले जितेको छ। आइतबार भएको फाइनल खेलमा अस्ट्रेसलयाले भारतलाई ८५ रनले पराजित गर्दै उपाधि उचालेको हो।
अस्ट्रेलियाले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको भारत १९.१ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियाे। भारतको लागि दीप्ती शर्माले ३३ रन, भेडा कृष्णमुर्थिको १९ रन बनाइन्। त्यस्तै रिचा घोसले १८ रन बनाउँदा अन्य ब्याट्सवुमनले राम्रो प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ अस्ट्रेलियाकी मेगन स्कुचले ३.१ ओभरमा १८ रन दिँदै ४ विकेट लिइन् भने जेस जोनस्सेनले ४ ओभरमा २० रन खर्चिँदै ३ विकेट लिइन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो। उसको लागि एलिसा हेलीले विस्फोटक ब्याटिङ गर्दै ३९ बलमा ७५ रन बनाएकी थिइन्। त्यसक्रममा उनले ७ चौका र ५ छक्का प्रहार गरिन्।
त्यस्तै बेथ मुनिले सनसनीपूर्ण प्रदर्शन गर्दै ५४ बलमा अविजित ७८ रन बनाएकी थिइन्। त्यसक्रममा मुनिले १० चौका हानिन्। कप्तान मेग् ल्यान्नीङले १६ रनको योगदान दिएकी थिइन्।
बलिङतर्फ भारतकी दीप्ती शर्माले ४ ओभरमा ३८ रन दिँदै २ विकेट लिइन् भने पुनम यादव र राधा यादवले समान एक एक विकेट लिएक थिए।