एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) राति बार्सिलोनाले आफ्नो २७ औं खेल रियल सोसिडाडविरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुका ११ः१५ मा सुरु हुनेछ।
घरेलु मैदानमा हुने खेलमा सोसिडाडलाई पराजित गर्दै बार्सिलोना ला लिगाको शीर्षस्थानमा उक्लने दाउमा छ। २६ औं खेल सकिँदा रियल मड्रिड ५६ अंकको साथ शीर्षस्थानमा छ भने दोस्रो स्थानको बार्सिलोनाको ५५ अंक छ।
क्याम्प नाउमा हुने खेलमा सोसिडाडलाई पराजित गर्न सकेमा बार्सिलोनाले रियलविरुद्ध २ अंकको अग्रता बनाउने छ। उपाधि होड कठिन बनिरहेको अवस्थामा बार्सिलोनालाई आजको खेल जित्नैपर्ने दबाब छ।
बार्सिलोना शीर्षस्थानमा उक्लिएपनि आउँदो आइतबार राति हुने रियल मड्रिड र रियल बेटिसबीचको खेलको नतिजाले तालिकामा पुनः फेरबदल आउन सक्नेछ। उक्त खेलमा विजयी भएमा रियल मड्रिडले पुनः तालिकाको शीर्षस्थानमा पुनरागमन गर्नेछ।