एजेन्सी– शुक्रबार राति भएको स्पेनिस ला लिगा खेलमा भ्यालेन्सिया डिर्पोटिभोले आल्भेससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। बराबरीसँगै भ्यालेन्सियाले पाँचौ स्थानको एट्लेटिको मड्रिडसँगको अंक बराबरी गर्ने मौका गुमाएको छ।
भ्यालेन्सियाको २७ खेलबाट ४२ अंक रहेको छ। एक खेल कम खेलेको एट्लेटिकोको ४४ अंक छ। ३२ अंक जोडेको अलाभेस ११औं स्थानमा छ। अलाभेसको मैदानमा शुक्रबार राति भएको खेलमा भ्यालेन्सियाले खेलको ३४ औं मिनेटमा ड्यानियल पारेजोकाे गोलमा अग्रता लिएकाे थियाे।
७३ औं मिनेटमा इडगर मेन्डिजले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा ल्याए। खेलमा भ्यालेन्सियाले घरेलु टोलीलाई दवावमा राखेपनि अलाभेसको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो। इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा घरेलु टोलीले पेनाल्टीको अपिल गरेपनि भिएआरको मान्यता नपाउदा घरेलु टोलीले पेनाल्टी नपाउदा सम्भावित जितबाट वञ्चित बन्यो।
ला लिगामा स्पेनिस महारथी रियल म्याड्रिड ५६ अंक जोडेर शीर्षस्थानमा रहँदा क्याटलान क्लब बार्सिलोना ५५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।