काठमाडौं– एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा भोली (शुक्रबार) नेपालले सिंगापुरको सामना गर्देछ। थाइल्याण्डको टर्डथाइ क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार शुक्रबार बिहान ८ः१५ बजे सुरु हुनेछ।
प्रतियोगितामा ३ खेल खेलिसकेको नेपाल १ खेलमा जित र २ खेलमा हार बेहोर्दै एसिया कपको अन्तिम छनोट खेल्नबाट बञ्चित भइसकेको छ। सिंगापुरकोसँगको खेल नेपालको लागि प्रतिष्ठाको लडाँइ मात्रै हुनेछ। सिंगापुर आफूले खेलेको ३ खेलमा शतप्रतिशत जित निकाल्दै तालिकाको शीर्षस्थामा छ।
नेपाल र सिंगापुरको विगतका खेल हेर्ने हो भने मिश्रित खालको नतिजा आएको छ। सन् २०१९ को अक्टोबरमा भएकाे त्रिकोणात्मक सिरीजअन्तर्ग नेपाल र सिंगापुरको खेल रद्ध भएको थियो।
त्यसअघि सेप्टेम्बर २८ मा भएको सोही सिरीजअन्तर्गको खेलमा नेपाल ९ विकेटले विजयी भएको थियो भने जुलाई २८ मा भएको आइसीसी टी–२० विश्वकपअन्तर्गको एसिया रिजनलको फाइनल खेलमा नेपाल ८२ रनको फराकिलो अन्तरले पराजित भएको थियो।
शुक्रबारको खेलमा नेपाल सिंगापुरलाई स्तब्ध पार्दै प्रतियोगितको शुखद् अन्त्य गर्ने दाउमा छ भने सिंगापुर शतप्रतिशत जित निकाल्दै एसिया कप २०२० को अन्तिम छनोटमा प्रवेश गर्ने सोचमा छ। सिंगापुर नेपालसँग पराजित भएपनि अघिल्लाे चरण प्रवेश गर्नेछ। जे होस् खेल रोमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।