काठमाडौं– चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना (केभिड १९) भाइरसले यतिबेला विश्वलाई नै त्रसित बनाएको छ। विश्वका ८४ देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने यसबाट विश्वभर ३ हजार २ सय ८६ जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै ९५ हजार ४ सय ८८ जना भाइरसबाट संक्रमित भएका छन्।
विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन पटकपटक आग्रह गरेको छ। नेपाल सरकारले कोरोनाप्रति देखाएको उदारताले सर्वसाधरण निकै त्रसित बनेका छन्। विश्वलाई नै आक्रान्त पारिरहेको कोराना भाइरस निकट भविष्यमै नेपालको लागि ठूलो चुनौति बन्ने अनुमान गर्न सकिन्छ।
विश्वका विभिन्न देशहरुले कोरोनाप्रति उच्च सतर्कता अपनाउँदै सभा सम्मेलन स्थगित गर्नेदेखि लिएर मानिसको भीडभाड हुने स्थानहरुमा नजान सर्वसाधरणलाई आग्रह गरेका छन्। त्यस्तै मनोरञ्जनका कार्यक्रमदेखि लिएर राजनैतिक, शैक्षिक, सामाजिक गतिविधिहरुसमेत हालका लागि स्थगित गरेका छन्। विद्यालयहरु बन्द गरिएका छन्। त्यतिमात्रै हैन नागरिकको सुरक्षालाई ध्यानमा राख्दै खेलकुदका विभिन्न गतिविधिहरुसमेत हालका लागि रोकिएका छन्।
नेपालको राष्ट्रिय क्रिकेट टोली यतिबेला जोखिम नै मोलेर थाइल्याण्डमा एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता खेलिरहेको छ। यसैबिच नेपालमा पनि मानिसको भीडभाड धेरै हुने खालका हरेक खेलकुद गतिविधिहरु तत्कालका लागि रोक्नुपर्नेमा जोड दिइएको छ।
नेपालमा खेलकुद गतिविधिको कुरा गर्दा क्रिकेट अछुतो रहन सक्दैन अनि क्रिकेट भन्ने बित्तिकै विभिन्न फ्रेन्चाइज लिग। कीर्तिपुरको टियु क्रिकेट मैदान चैत १ गतेदेखि बहुप्रतिक्षित फ्रेन्चाइज लिग इभरेष्ट प्रिमियर लिग (इपीएल) सुरु हुँदैछ। विश्व क्रिकेटका महान हस्तीहरुलाई नेपालको घरेलु लिगमा आबद्ध गराई क्रिकेटप्रेमीको ध्यान खिचाउन सफल इपीएल कोरोना भाइरसको कारण प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
इपीएलमा वेस्ट इन्डिजका क्रिस गेल, श्रीलंकाका उपुल थरंगा, आयरल्याण्डका पाउल स्टर्लिङ, स्कटल्याण्डका जर्ज मुन्से र न्युजिल्याण्डका कोरी एन्डरसनजस्ता विश्व क्रिकेटमा छुट्टै पहिचान बनाएका खेलाडीहरु विभिन्न टिममा अनुबन्धित भइसकेका छन्।
विश्व क्रिकेट जगतले नै प्रतीक्षा गरिरहेको इपीएलको तयारी तीव्र रुपमा भइरहेको छ। यस्तोमा इपीएल स्थगित हुनुले जो कोही निराश हुनु सामान्य हो। तर कोरोनाको बढ्दो संक्रमण र यसले फैलाएको त्रासले भने फेरी एकपटक सोच्नैपर्ने अवस्था आएको छ। राष्ट्रिय खेलाडीदेखि विदेशी खेलाडीसम्मको प्रदर्शन हेर्न टियु क्रिकेट मैदानमा हजारौँको संख्यामा क्रिकेटप्रेमीहरु उपस्थित हुने पक्का छ।
नेपाल कोरोनाको उच्च जोखिममै रहेको अवस्थामा हजारौँको संख्यामा उपस्थित हुन लागेको भीडलाई तत्कालका लागि रोकिएन भने त्यसले नागरिकको स्वास्थ्यप्रति सरकारको असंवेदनशीलतालाई दर्शाउने कतिपयको तर्क छ। विश्वका विकसित राष्ट्रहरुको लागि चुनौतिपूर्ण बनिरहेको कोरोना भाइरसलाई नेपालले गम्भिररुपमा नलिएमा त्यसको ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ।
इपीएल मात्रै नभएर मानिसहरुको बाक्लो उपस्थिति हुने सबैखाले खेल गतिविधि तत्कालका लागि रोक्नुमा नै सबैको हित रहेको डाक्टरहरुले सुझाव दिएका छन्। नागरिकको स्वास्थ्यभन्दा ठूलो कुरा केहि छैन भन्ने कुरा सरकारले बुझ्न जरुरी छ।