काठमाडौँ, १ फागुन – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो केन्द्रीय कार्यालय धुम्बाराहीमा जनयुद्ध दिवस मनाउने भएको छ। तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सुरु गरेको युद्धलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो। तर, माओवादी र तत्कालिन नेकपा एमालेबीच पार्टी एकीकरण भएपछि उक्त दिवस मनाउने विषयमा नेकपामा विवादका रुपमा रहेको थियो ।
तत्कालिन माओवादी जनयुद्ध दिवस मनाउने पक्षममा थिए भने एमाले उक्त दिवस नमनाउने पक्षमा देखिन्थे। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच दिवस मनाउने सहमति भएको हो। तर जनयुद्धको अगाडि जनआन्दोलन शब्द राखेर दिवस मनाउने समझदारी बनेको हो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले फागुन एक गते जनआन्दोलन र जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम’ आयोजना गरिएको ट्विट मार्फत् जानकारी दिएका छन्।
उक्त कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मात्र सहभागि हुनेछन्। ओली भने पार्टी कार्यालयको कार्यक्रममा सहभागि हुने छैनन्। कार्यक्रम केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनेछ।