एजेन्सी– युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्टस फ्रेन्च क्लब लियोनसँग स्तब्ध बनेको छ। बुधबार राति भएको खेलमा युभेन्टस घरेलु टोली लियोनसँग १–० ले स्तब्ध बनेको हो।
युभेन्टसले लियोनसँग कुनै पनि खेलमा पहिलो हार बेहोरेको हो। यि दुई टोलीले यसअघि ६ पटक खेल्दा युभेन्टसले ५ मा जित र १ बराबरीको नतिजा निकालेको थियो। यससँगै लियोनले हारको श्रृंखलालाई तोड्न सफल हुदा युभेन्टसले लियोनसँग पहिलो हार भोग्न पुग्यो।
लियोनको जितमा लुकास टोउसार्टले गरेको गोल नै निर्णायक बन्यो। खेलभर नै घरेलु टोलीलाई दवावमा राखेको युभेन्टसले लियोनको बलियो रक्षापङ्ति तोड्न सकेन।
३१औं मिनेटमा लुकास टोउसार्टले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। सिक्स यार्डमा अनमार्क रहेका उनले हुसेन ओउअरको पासमा गोल गर्न सफल भएका थिए। युभेन्टसले दोस्रो हाफमा पनि घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पहिलो लेगमा १–० को हार भोग्न पुग्यो। सुपरस्टार फारवार्ड रोनाल्डोले केही अवसर खेर फालेका थिए।
पहिलो लेगमा पाएको सफलतासँगै लियोनले क्वाटरफाइनल पुग्न सम्भावना बलियो बनाएको छ। अब युभेन्टसको मैदानमा हुने दोस्रो लेगमा यही नतिजा कायम गर्न सके लियोनले क्वाटरफाइनलको यात्रा तय गर्नेछ। युभेन्टसलाई भने अर्काे चरणको यात्रा तय गर्न घरेलु मैदानमा कम्तीमा पनि जित आवश्यक छ।