एजेन्सी– यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगको खेलमा रियल म्याड्रिड इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग २–१ ले पराजित भएको छ।
घरेलु मैदान सान्टीयागो बर्नाबाउमा रियलले सुरुवाती अग्रता लिनुका बाबजुद पनि हारको सामना गर्नुपरेको हो। पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। दोस्रो हाफको ६० औं मिनेटमा इस्कोले गोल गर्दै रियललाई अगाडि बढाए। उनले भिनिसियस जुनियरको पासलाई सदुपयोग गरेका थिए।
तर ५ मिनेटको अन्तरमा दुई गोल फर्काउँदै सिटीले अवे मैदानमा महत्त्वपुर्ण अग्रता लियो। ७८ औं मिनेटमा केभीन डे ब्रुयनको पासमा ग्याब्रिएल जेससले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको ५ मिनेटमा नै सिटीले पेनाल्टीको अवसर पायो। ड्यानी कार्भाजलले रहीम स्टरलिङलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। डे ब्रुयनले पेनाल्टीमा गोल गर्दै सिटीलाई अग्रता दिलाए।
खेलको ५ मिनेट समय बाँकी रहँदा रियल थप समस्यामा पर्यो। कप्तान रामोसले जेससलाई लडाएपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाए। यससँगै रामोसले दोस्रो लेगको खेल पनि गुमाउने छन्। दोस्रो लेग मार्च १७ मा सिटीको मैदान इतिहादमा हुनेछ।
सिटीले च्याम्पियन्स लिगमा रियललाई हराएको यो नै पहिलो अवसर हो। अब दोस्रो लेगमा कम्तिमा बराबरी अथवा १–० ले पराजित भएपनि सिटी क्वाटरफाइनलमा प्रवेश गर्नेछ।