धरान– मनाङ मर्स्याङ्दी क्लब धरानमा जारी २२औं संस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको पहिलो सेमिफाइनलमा भारतीय क्लब यूके एफसीलाई २–० गोलले हराउँदै उपाधि दाबेदार मानिएको मनाङ अन्तिम चारमा प्रवेश गरेको हो। धरान रंगशालामा भएको खेलमा मनाङलाई जिताउन विमल राना र दयानन्द सिंहले समान एक–एक गोल गरे। खेलको २०औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। कमलले प्रहार गरेको कर्नर किकमा विमलले गोल गरे।

यस्तै खेलको इन्जुरी समयमा दयानन्दले गोल गर्दै मनाङलाई २–० गोलको जित दिलाए। दयानन्दले निशानको असिस्टमा गोल गरेका थिए। त्यसअघि दुईबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो। खेलको २७औं मिनेटमा यूकेएफसीका वाङ्देन तामाङले खराब ट्याकलका कारण पहेँलो कार्ड पाएका थिए।
यस्तै खेलको ३२औं मिनेटमा विपक्षी खेलाडीमाथि ट्याकल गरेपछि अञ्जन विष्टले पहेँलो कार्ड पाए। यस्तै ४२औं मिनेटमा विमल रानामाथि फल गरेपछि यूके एफसीका कप्तान वीरेन प्रधानले कार्ड पाए। खेलको ५३औं मिनेटमा यूके एफसीले मनाङको पोस्टमा राम्रो प्रहार गरेको थियो । तर, मनाङका गोलरक्षकले उत्कृष्ट बचाउ गरे।
यसैगरी खेलको ६१औं मिनेटमा गोलकर्ता विमलले खराब व्यवहार देखाएपछि पहेँलो कार्डको सामना गर्नुपरेको थियो। विमलको स्थानमा रञ्जन विष्ट मैदान प्रवेश गर्दै गर्दा विमलले नजिकै रहेको पानीको बोत्तललाई खुट्टाले हानेका थिए । त्यसपछि रेफ्रीले उनी पहेँलो कार्ड दिए। खेलको ८२औं मिनेटमा रञ्जनले यूके एफसीका कप्तान वीरेनलाई धकेलेपछि पहेँलो कार्ड पाएका थिए ।
यस जितसँगै मनाङले मछिन्द्र फुटबल क्लब र विभागीय टिम नेपाल पुलिस क्लबको विजेता टोलीसँग उपाधिका लागि खेल्नेछ।शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र र पुलिस क्लबले भोलि हुने दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिताको फाइनल खेल १७ फागुनमा हुनेछ।
टुबोर्ग बियरले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले नगद १० लाख पुरस्कार पाउनेछन्। उपविजेताले टोलीले ५ लाख नगद पाउनेछन्। प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार, सर्वाेकृष्ट खेलाडीले होण्डा कम्पनीको डियो स्कुटर पाउनेछन्।
सर्वाधिक गोलकर्ताले ३५ हजार र म्यान अफ द म्याच खेलाडीले १५ हजार पुरस्कार पाउनेछन्।