काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरस्वती क्लबका कप्तान दीपेश श्रेष्ठलाई २ वर्षको प्रतिबन्ध लगाएकाे छ। एन्फाले श्रेष्ठलाई म्याच फिक्सिङकाे आराेपमा २ वर्षको प्रतिबन्धसँगै ५० हजार रुपैयाँ जरिवाना गरिने बताएकाे छ।
बुधबार एन्फाद्वारा जारी विज्ञप्तीमा श्रेष्ठले नियमावली विपरित कार्य गरेकोले अनुशासन समितिको बैठकले कारवाही गरेको जनाइएकाे छ। लिगको ५९ औं खेल यति हिमालयन शेर्पा क्लबविरुद्धको खेलका लागि दीपेशले खेल मिलेतोको प्रस्ताव गरेको आशंकामा एन्फाले दीपेशलाई अन्तिम ३ खेल खेल्नबाट प्रतिबन्ध लगाएको थियो।
यससँगै दीपेशले आजको मितिबाट २ वर्षसम्म एन्फाको आयोजना र स्वीकृतिमा हुने प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। हाल उनी एन्फाको स्वीकृति प्राप्त चौथो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिमबाट खेलिरहेका छन्।