एजेन्सी– युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लिगमा इंग्लिस क्लब चेल्सीले जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेको छ। चेल्सी घरमै बायर्न म्युनिखसँग ३–० ले स्तब्ध बनेको हो।
बायर्नको जितमा सर्जी जिनाव्रीले दुई तथा रोवर्टाे लेवान्डोस्कीले गोल गरे। चोटिलो घरेलु टोलीले पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा बायर्नको अग्रपङ्तिलाई रोक्न सकेन। बायर्नले घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राख्न सफल भएको थियो।
पहिलो मिनेटमा नै थोमस मुलरको प्रहारलाई चेल्सीका गोलरक्षक वेल्फ्रेडो कावालेरोले मुस्किलले बचाए। सातौ मिनेटमा मासन माउन्टको प्रहार क्रस बारमा लागेर बाहिरिँदा चेल्सी अग्रता लिनबाट चुक्यो। ११औं मिनेटमा बायर्नका किङ्सले कोमानको प्रहार बाहिरियो।
२८औं मिनेटमा चेल्सीका गोलरक्षक कावालेरोले मुलरको प्रहारलाई मुस्किलले विफल पारे। ३५औं मिनेटमा रोवर्ट लेवान्डोस्कीको प्रहार क्रसबारमा लाग्दै बाहिरिँदा बायर्न अग्रता लिनबाट पुनः चुक्यो।
४८औं मिनेटमा मासन माउन्टको प्रहारलाई अल्फोन्सोले ब्लक गरिदिए। लगातार अवसर गुमाइरहेको बायर्नले ५१औं मिनेटमा गोल गर्न सफल भयो । सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए। उनले रोवर्ट लेवान्डोस्कीको पासमा गोल गर्न सफल भएका थिए। त्यसको तीन मिनेट पछि नै लेवान्डोस्कीको पासमै सर्जी जिनाव्रीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न सहज जिततर्फ अग्रसर बनेको थियो।
७६औं मिनेटमा अघिल्लो दुई गोलमा असिस्ट दिएका रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको जित पक्का गरे। उनले अल्फोन्सोे डेभिसको पासमा गोल गर्न सफल भएका थिए। ३ गोल खाइसकेको चेल्सीले ८३औं मिनेटमा अर्काे झट्का बेहोर्यो। रोवर्टाे लेवान्डोस्कीमाथि खराव ट्याकल गरेपछि मार्काेस अलन्सो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटियो। त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी घरमा ३–० ले निरिह बन्न पुग्यो।
महत्त्वपुर्ण अवे जितसँगै बायर्नले च्याम्पियन्स लिगको क्वाटरफाइन्ल पुग्ने सम्भावना बलियो बनाएको छ। दोस्रो लेगमा बराबरी या २–० को हारले पनि बायर्न क्वाटरफाइनलमा प्रवेश गर्नेछ। चेल्सीलाई क्वाटरफाइनलमा प्रवेश गर्न कम्तीमा पनि ४–० को जित आवश्यक छ। दोस्रो लिग बायर्नको मैदानमा १९ मार्चमा हुनेछ।