एजेन्सी– बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत पहिलो लिगमा नापोलीको मैदानमा १–१ को बराबरीमा रोकिएको छ।
नापोलीले खेलको ३० औं मिनेटमा ड्रिज मर्टेन्सको गोलमा अग्रता लिएको थियो। मर्टेन्सले १८ यार्ड टाढाबाट प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्देर टेर स्टेगनले बचाउने कुनै मौका पाएनन्।
दोस्रो हाफमा फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनले गोल गरेपछि बार्सिलोना खेलको ५७ औं मिनेटमा स्कोर बराबरीमा ल्यायो। नेल्सन सेमेडोको लो क्रसमा ग्रिजमनले पहिलो टचमा नै गोल गरेका थिए।
खेलको ८९ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा सिमित भयो। मिडफिल्डर आर्टुरो भिडालले एकै मिनेटमा दुई पहेंलो कार्ड पाएका थिए। फाबियन रुइजलाई फल गर्नेबितिक्कै भिडालले रुइजको मुहारमा टाउकोले धकेलेपछि रेफ्रीले भिडाललाई २ पहेंलो कार्ड दिएका थिए।
खेलको दोस्रो लिग १४ मार्चमा हुनेछ। उक्त खेलका लागि मिडफिल्डर सर्जियो बुस्केट्स उपलब्ध हुने छैनन्। उनले प्रतियोगिताको तेस्रो पहेंलो कार्ड पाएका कारण एक खेल गुमाउने भएका हुन्। खेलको अन्तिमतिर डिफेन्डर जेरार्ड पिके पनि घाइते भएपछि बार्सिलोना थप समस्यामा परेको छ।