काठमाडौँ, २९ माघ – नेपाली कांग्रेसका केन्द्रीय नेताहरू महासमितिको निर्णयलाई उल्ट्याउन उद्यत देखिएका छन्। पार्टीको केन्द्रीय समितिको बैठकमा पार्टीका पदाधिकारी र सदस्य स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान राख्ने र नराख्ने भन्नेबारेमा पदाधिकारी र सदस्यहरू दुई खेमामा विभाजित भएका छन्।
जारी केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापन पक्षका नेताहरूले केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान राख्नुपर्छ भन्ने अडान राखेका छन्।
तर, संस्थापन इतरका नेताहरू भने महासमितिको बैठकबाटै यो प्रावधान हटाउने निर्णय भइसकेकाले त्यसलाई उल्ट्याउन नपाइने अडानमा छन्। यो विवाद बढ्दै गएकाले पार्टी केन्द्रीय समिति अनिर्णयको बन्दी बनेको छ। अहिले पार्टीभित्र ठूला ठानिएका नेताहरू बुथ कमिटीसम्म गएर निर्वाचित भएर आउन कठिन देखेपछि महासमितिको यो निर्णय उल्ट्याउन लागिपरेका छन्।
पार्टीभित्र अलोकप्रिय बनेका यस्ता नेताहरू नै यो व्यवस्थालाई यथावत् राख्न उद्यत देखिन्छन्। तर, अब युवा नेताहरू अलोकप्रिय र नालायक सस्थापन पक्षका नेताहरूलाई स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्न नदिन कृतसंकल्पित देखिन्छन्।
एक जना केन्द्रीय नेता भन्छन्, ‘बुथ कमिटीबाट निर्वाचित भएर पार्टी नेतृत्वसम्म आउन नसक्ने छवि भएका नेताहरूका कारण विवाद चर्किएको हो, यसलाई समयमै गम्भीरताका साथ लिन हामीहरूले नेतृत्वलाई खबरदारी गरेका छौँ।’
यसरी केन्द्रीय महाधिवेशन र क्षेत्रीय प्रतिनिधि हुनुपर्छ भन्नेमा सोमबार केन्द्रीय सदस्य शंकर भण्डारी, मीन विश्वकर्मा, चिनकाजी श्रेष्ठ, हरि नेपाललगायत केन्द्रीय नेतृत्वसमेत रहेका छन भने निर्वाचित नै हुनुपर्छ भनेर अडान राख्नेमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, प्रदीप पौडेल, डा. मीनेन्द्र रिजाल, नवीन्द्रराज जोशी, दिलेन्द्रप्रसाद बडूलगायत नेताहरू छन्।
यसबाट महासमितिको बैकठ सकिएको डेढ महिना बित्दा पनि पार्टीको विधान राजनीतिक प्रस्ताव र आर्थिक प्रस्ताव जस्ता महत्त्वपूर्ण अन्य प्रस्तावहरूमाथि पार्टी नेतृत्वले उचित निर्णय लिन सकेको छैन। यसले पार्टीप्रति स्थानीय स्तरका नेता कार्यकर्तामा वितृष्णा उत्पन्न गर्दै लगेको देखिन्छ।