काठमाडौँ, २९ माघ – सरकारले संसद्मा पेस गरेको नागरिकतासम्बन्धी विधेयक ‘राष्ट्रहित विपरीत’ भएको भन्दै सत्तारूढ दलकै नेताले पार्टी केन्द्रीय समितिमा छलफल गराउन माग गरेका छन्। विगतमा बाँडेका नागरिकताको छानबिन नगरी फेरि अंगीकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने गरी संसद्मा विधेयक ल्याइएको भन्दै सत्तारूढ दलकै नेताले आपत्ति जनाएका छन्।
नेकपाका केन्द्रीय सदस्य डा.विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरेलगायत २१ केन्द्रीय नेताले संसद्मा सरकारले ल्याएको विधेयक ‘हुबहु’ पारित गर्न नहुने भन्दै विधेयकमाथि छलफलको माग गरेका हुन्। उनीहरूले राजधानीमा सोमबार नागरिकताबारे जानकार र विज्ञ डाकेर विधयेकका विविध आयामका विषयमा अन्तरक्रिया गरेका थिए।
विज्ञहरू युवराज संग्रौला, चन्द्र्रकान्त ज्ञवाली, साध्यबहादुर भण्डारी र वोर्णबहादुर कार्कीलगायतले नेकपा नेताहरूलाई सरकारले ल्याएको विधेयकका राष्ट्रहित विपरीतका प्रावधानबारे ‘ब्रिफ’ गरेका थिए। सरकारले गत साउन २२ गते संसद्मा ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएको थियो।
विधेयक प्रतिनिधिसभामा साउन २८ गते प्रस्तुत भएको थियो। प्रतिनिधिसभामा एक चरण सामान्य छलफल भई विधेयक संसद्को राज्य व्यवस्था समितिमा छ। राज्य व्यवस्था समितिमा विधेयक र त्यसमा परेको संशोधन प्रस्ताव छलफलको क्रममा रहेको समाचार अन्नपूर्णले छापेको छ।