एजेन्सी– स्टार फरवार्ड नेयमारले रातो कार्ड पाएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले साँघुरो जित निकालेको छ। लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा घरेलु टोली पीएसजीले बोर्डोमाथि ४–३ को संघर्षपुर्ण जित निकालेको हो।
घरेलु टोलीको जितमा मार्कुन्योसले दुई तथा एडिन्सन काभानी र केलियन एमबाप्पेले गोल गरे। बोर्डोका उइ जो ह्वाङ, पाब्लो र रुवेन पार्डाेले गोल गरे। ७ गोलको थ्रिलरमा पीएसजीको खेलको १८औं मिनेटमा उइ जो ह्वाङको गोलबाट पछि परेको थियो।
उनले टोमा बासिकको पासमा गोल गर्न सफल भएका थिए। तर, बोर्डोको त्यो अग्रता लामो समय टिकेन। २५औं मिनेटमा एन्जल डि मारियाको पासमा एडिन्सन काभानीले बराबरी गोल फर्काए।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मार्कुन्योसले एन्जल डि मारियाको पासमा गोल गर्दै पीएसजीलाई खेलमा २–१ को अग्रता दिलाए। पीएसजीको त्यो अग्रता पनि धेरै बेर टिकेनमा इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा पाब्लोले बराबरी गोल फर्काउँदा पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा ७ मिनेटको अन्तरमा पीएसजीले दुई गोल गरेपछि पीएसजीले खेलमा ४–२ को अग्रता लिन सफल भयो। ६३औं मिनेटमा मार्कुन्योलसले गोल गर्दै पीएसजीले खेलमा ३–२ को अग्रता दिलाए। ६९औं मिनेटमा एमबाप्पेले काभानीको पासमा गोल गरेपछि पीएजसीले खेलमा ४–२ को अग्रता लिन सफल भयो।
८३औं मिनेटमा रुवेन पाब्लोले गोल गर्दै बोर्डोलाई खेलमा फर्काउन संकेत दिए। ८९औं मिनेटमा माउरो इकार्डीले गोल गरेपनि भिएआरमा उनी अफसाइड ठहरिए। इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा नेयमार दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा सीमित बन्यो। तर, बोर्डोले त्यसको फाइदा उठाउन सकेन र पीएसजी ४–३ ले विजयी हुन सफल भयो।
जितसँगै पीएसजीले लिग वानमा १३ अंकको स्पष्ट अग्रता लिदै उपाधि जित्न सम्भावना बलियो बनाएको छ। पीएसजीकाे २६ खेलबाट ६५ अंक पुगेको छ। उति नै खेलबाट मार्सेलीको ५२ अंक छ। पराजित बोर्डो ३५ अंकसहित १२औं स्थानमा छ।
अन्य नतिजा
एन्जर्स्विरुद्ध मोन्टेपेलिर (१–०)
डिजोनविरुद्ध मोनाको (१–१)
लिलविरुद्ध टोलुज (३–०)
स्टार्सवर्गविरुद्ध एमिएन्स (०–०)
सेन्ट इटिएनविरुद्ध रेइम्स (१–१)
रेनिसविरुद्ध निम्स (२–१)