एजेन्सी– टेस्ट सिरिजको पहिलो खेलमा भारतविरूद्ध न्युजिल्याण्डले शानदार जित निकालेकाे छ। तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि न्युजिल्याण्डले भारतलाई १० विकेटले हराएकाे हाे।
सोमबार चौथो दिनको खेलमा भारतले आफ्नो दोस्रो इनिङमा १ सय ९१ रनमा नै अलआउट भएपछि न्युजिल्यान्डले मात्र ९ रनको लक्ष्य पाएको थियो। न्युजिल्यान्डले उक्त लक्ष्य १० बलमा पूरा गर्याे। यससँगै २ खेलको टेस्ट सिरिजमा न्युजिल्यान्डले १–० को अग्रता बनाएकाे छ। दोस्रो टेस्ट शनिबारदेखि क्राइस्टचर्चमा सुरु हुनेछ।
टेष्ट सिरीजको पहिलो खेलमा पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ६८.१ ओभरमा अलआउट हुँदै १ सय ६५ रन बनाएको थियो। उसको लागि अजिङेगा राहनेले सर्वाधिक ४६ रन बनाए भने मयङ्क अग्रवालले ३४ रनको योगदान दिए।
त्यस्तै मोहम्मद सामीले २१, पृथ्वी शावले १६ रन बनाउँदा अन्य खेलाडीको राम्रो प्रदर्शन गर्न सकेनन्। बलिङतर्फ न्युजिल्याण्डका टिम साउथीले र केल ज्यामिसनले समान ४–४ विकेट लिए भने ट्रेन्ट बउल्टले एक विकेट लिए।
त्यसपछि ब्याटिङमा आएको न्युजिल्याण्डले आफ्नो पहिलो इनिङमा १००.२ ओभरमा अलआउट हुँदै ३ सय ४८ रन बनायो। उसको लागि कप्तान केन विलियमसनले ८९ रनको पारी खेले भने रोस टेलर र केल ज्यामिसनले समान ४४ रनको योगदान दिए। त्यस्तै कोलिन डि ग्रान्धोम्मिले ४३, ट्रेन्ट बउल्टले ३८, टोम ब्लुन्डेलले ३० रन बनाए।
भारतको बलिङमा इशान्त शर्माले ५ विकेट लिँदा रविचन्द्रन आश्विनले ३ विकेट लिए। जसप्रित बुम्राह र मोहम्मद शामीले समान एक एक विकेट लिए। पहिलो इनिङको खेल सकिँदा भारत १ सय ८३ रनले पछि परेको थियो।
आफ्नो दोस्रो इनिङ ब्याटिङ गरेकाे भारतले ८१ ओभरमा अलआउट हुँदै १ सय ९१ रन मात्र बनाउन सक्याे। भारतको दोस्रो इनिङमा मयङ्क अग्रवाल बाहेक अन्य ब्याट्सम्यानले आशासित प्रदर्शन गर्न सकेनन्। मयङ्कले ५० रन बनाए भने ओपनर पृथ्वी शावले १४ रन मात्र बनाउन सके।
कप्तान कोहली १९ रनमा पवेलियन फर्किए। चेतेश्वर पुजाराले ११ रन बनाए। अजिङ्गा राहने २९ रन, हनुमा विहारी १५ रन र रिसव पन्तले २५ रन बनाएका थिए। बलिङतर्फ न्युजिल्याण्डका टीम साउथीले ५ विकेट, ट्रेन्ट बाेउल्टले ४ विकेट र काेलिन दिले एक विकेट लिए।