एजेन्सी– वेष्ट इन्डिज क्रिकेट टीमका ओपनर शाई होपले एकदिवसीय नयाँ उपलब्धि हासिल गरेका छन्। उनले एसियामा सर्बाधिक छिटो एक हजार रन पूरा गर्ने उपलब्धि हासिल गरेका हुन्।
होपले यो उपलब्धि आज श्रीलंकासँग भइरहेको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेल हासिल गरे। उनले आज १४० बलमा १० चौका प्रहार गर्दै ११५ रन बनाए। होपले एसियामा १ हजार रन १५ पारीमा पूरा गरेका हुन्। उनले १४ पारीमा ९९८ रन बनाएका थिए।
होपले आज श्रीलंकाविरुद्ध २ रन बनाउँदै एसियामा सर्बा्धिक छिटो एक हजार रन पूरा गर्ने रेकर्ड बनाए। योसँगै उनले पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर आजमको कीर्तिमान तोडेका छन्। बाबरले १७ पारीमा १ हजार रन बनाएका थिए।
वेष्ट इन्डिजले दियो श्रीलंकालाई २ सय ९० रनको लक्ष्य
एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा वेष्ट इन्डिजले घरेलु टोली श्रीलंकालाई २ सय ९० रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको मौका पाएको वेष्ट इन्डिजले निर्धा्रित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८९ रन बनायो।
उसका लागि ओपनर शाई होपले ११५, रोस्टन जेसले ४१, डारेन ब्रावोले ३९, किमो पउलले अविजित ३२, निकोलश पूरनले ११ र हेडन वाल्सले नटआउट २० रन बनाए। बलिङमा श्रीलंकन टीमका इसुरु उडानाले ३, थिसरा परेरा र नुवान प्रदीपले एक–एक विकेट लिए।