एजेन्सी– इटालियन सिरी ‘ए’ मा नेपोलीले पूनरागमन जित निकालेको छ। नेपोलीले घरेलु टोली ब्रेसियामाथि २–१ को पूनरागमन जित निकाल्न सफल भएको हो।
ब्रेसियाको घरेलु मैदान स्टेडियो मारियो रिगामोन्टी ब्रेसियामा शुक्रबार राति भएको खेलमा नेपोलीको जितमा लोरेन्जो इन्सिग्ने र फावियन रुइजले गोल गरे। घरेलु टोलीका जोन चान्सेलरले गरेको गोल सान्त्वना बन्यो।
खेलको २६औं मिनेटमा जोन चान्सेलरको गोलबाट ब्रेसियाले पहिलो हाफमा १–० को अग्रत बनाएको थियो। उनले सान्द्रो टोनालीको पासमा गोल गरेका थिए। तर, घरेलु टोलीले दोस्रो हाफमा त्यो अग्रतालाई जोगाउन सकेन।
दोस्रो हाफमा नेपोलीले ४ मिनेटको अन्तरमा दुई गोल गर्दै खेलमा अग्रता लिन सफल भयो। ५०औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। एलिस माटेजुले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि नेपोलीले पेनाल्टीको अवसर पाएको थियो। जसलाई लोरेन्जोले सदुपयोग गरे।
५४औं मिनेटमा फावियन रुइजले गोल गर्दै नेपोलीलाई खेलमा २–१ को अग्रता दिलाए। उनले जियोभानी डि लोरेन्जोको पासमा गोल गर्द सफल भएको थियो। त्यसपछि पनि नेपोलीले घरेलु टोलीलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा नेपोली २–१ ले विजयी बन्न सफल भयो।
जितसँगै नेपोली २५ खेलबाट ३६ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ। ब्रेसिया १६ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा रहेको छ।