एजेन्सी– पोल्यान्डका फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा संघर्षपुर्ण जित निकालेको छ। बायर्नले रेलिगेसन जोनमा रहेको पाडेरवर्नमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो।
बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले दुई तथा सर्जी जिनाब्रीले एक गोल गरे। पाडेरवर्नका डेनिस सवैनी र एस्भेन मिचेलले गोल गरे। खेलभर नै पाहुना टोलीलाई दवावमा राख्दै बायर्नले गोल गरेपनि आफ्नो रक्षापंक्ति बलियो बनाउन नसक्दा जितको लागि निकै संघर्ष गर्नुपरेको थियो।

एलियन्ज एरिनामा शुक्रबार राति भएको खेलको २५औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। उनले कोरेन्टिन टोलिसोको पासमा गोल गरेका थिए। ४४औं मिनेटमा डेनिसले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको थियो।
७०औं मिनेटमा सर्जी जिनाब्रीको पासमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेलमा पुनः २–१ को अग्रता दिलाएका थिए। त्यसको ५ मिनेटपछि नै पाडेरवर्नले बराबरी गोल फर्काउन सफल भयो। पाडेरवर्नका मिचेलले बराबरी गोल गोल फर्काए। बराबरीतर्फ धकेलिन लागेको खेल सकिन दुई मिनेट बाँकी रहँदा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बायर्नलाई ३–२ को संघर्षपुर्ण जितसँगै महत्वपुर्ण ३ अंक दिलाए।
जितसँगै बायर्नले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ। बायर्नको २३ खेलबाट ४९ अंक रहँदा एक खेल कम खेलेको आरबी लाइप्जिगको ४५ अंक छ। पराजित पाडेरवर्न १६ अंक जोडेर रेलिगेसन जोनको पुछारमा छ।