एजेन्सी– क्याटलान क्लब बार्सिलोनाले आकस्मिक अवस्थामा खेलाडी अनुबन्ध गर्न पाउने अधिकारको प्रयोग गर्दै ट्रान्सफर विन्डो सकिएपछि पनि लेगानेसबाट फरवार्ड मार्टिन बे्रथवेटलाई अनुबन्ध गरेको छ।
फ्रान्सेली युवा विगंर ओस्मान डेम्बेले लामो समयका लागि मैदानबाहिर रहने पक्का थएपछि बार्सिलोनाले उनको विकल्पमा नयाँ खेलाडी अनुबन्ध गरेको हो। लेगानेसबाट खेल्दै आएका ब्रेथवेट डेनमार्कका हुन्। उनले सन् २०२४ सम्मका लागि बार्सिलोनामा सम्झौता गरेका छन्। उनको रिलिज कलज ३ सय मिलियन युरो तोकिएको छ।
बार्सिलोनाले डेम्बेले घाइते भएपछि उनको विस्तृत स्वास्थ्य रिपोर्ट ला लिगा समक्ष बुझाएको थियो। ला लिगाले बार्सिलोनालाई नयाँ फरवार्ड अनुबन्धन गर्न स्वीकृति दिएपछि लेगानेसबाट ब्रेथवेट बार्सिलोना आएका हुन्। लेगानेसले यसअघि अर्का फरवार्ड युसुफ एन नेस्य्रीलाई सेभिल्लामा बेचेको थियो। रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको लेगानेसले पनि नयाँ खेलाडी अनुबन्ध गर्न खोज्दा भने लिगले स्वीकृति दिएन।
बार्सिलोनाका अर्का फरवार्ड लुइस सुआरेज पनि अझै केहि समय मैदानबाहिर छन्। उनको घुँडाको शल्यक्रिया गरिएको छ। डेम्बेले पनि कम्तिमा ६ महिना मैदानबाहिर रहनेछन्। ब्रेथवेटको आगमनसँगै मेस्सी र अन्सु फातीमा भर परेको बार्सिलोनाको आक्रमणलाई केहि सहज हुनेछ। लिगको दोस्रो स्थानमा रहेको बार्सिलोना रियल म्याड्रिडभन्दा १ अंक पछाडी छ।