एजेन्सी– बेल्जियन फरवार्ड रोमेलु लुकाकुले एक गोल र एक असिस्ट दिएपछि इटालियन क्लब इन्टर मिलानले युइएफए युरोपा लिगको राउन्ड अफ ३२ मा सहज जित हात पारेको छ। इन्टरले बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो।
लुडोगोरेट्स एरिना राजग्राडमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। इन्टरका लागि एक गोल यसै विन्टरमा इंग्लिस क्लब टोटेनहमबाट इन्टर मिलान पुगेका त्रिस्टियन इरिक्सनले गोल गरे।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि इन्टरले दोस्रो हाफमा दुई गोल गर्दै जित पक्का गरेका थिए। ७१औं मिनेटमा क्रिस्टियन इरिक्सनले लुकाकुको पासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए।
इन्ज्युरी समयमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई जित दिलाए। इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एनिसेट एबेलले डानिलो डि एम्ब्रोसियोलाई लडाएपछि इन्टरले पेनाल्टी पाएको थियो । जसलाई लुकाकुले सदुपयोग गरे।
दोस्रो लेग २८ फेब्रुअरीमा इन्टरको मैदानमा हुनेछ। यसमा बराबरी या जित हात पारे इन्टर प्रि–क्वाटरफाइनलमा प्रवेश गर्नेछ। लुडोगोरेट्स राजग्राडलाई अर्काे चरण प्रवेश गर्न कम्तीमा पनि ३–० को जित आवश्यक छ।