काठमाडौं– इभरेष्ट प्रिमियर लिग (इपीएल) मा एकपछि अर्काे विदेशी खेलाडी भित्रिने क्रम जारी छ। यसैबिच स्कटल्याण्डका ब्याट्सम्यान जर्ज मुन्सेले पनि चौथो संस्करणको इपीएल खेल्ने पक्का भएकाे छ।
मुन्सेले पोखरा राइनोजबाट खेल्ने भएका हुन्। पोखराले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै मुन्सेले पोखराबाट इपीएल खेल्ने जनाएकाे छ। यसअघि पोखराले वेष्ट इण्डिजका स्टार क्रिस गेल र केस्रिक विलियम्सलाई टिममा अनुबन्ध गरिसकेको छ।
मुन्सेले स्कटल्याण्डबाट २५ एकदिवसीय र ३८ अन्तर्राष्ट्रिय टी–२० क्रिकेट खेलेका छ्न्। उनले एकदिवसीय क्रिकेटमा २ अर्धशतक तथा अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा एक शतक, ५ अर्धशतक प्रहार गरेका छन्।