कास्की– राष्ट्रिय खेलकूद परिषद्–राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले विसं २०७९ मा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी शुरु भइसकेको बताएका छन्।
खेलकूद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आगामी वर्षको फागुनमा पोखरामा तय भएको नवौँ राष्ट्रिय खेलकूदका लागि पूर्वाधारको समस्या नरहेकाले कर्णाली प्रदेशका लागि अहिलेबाटै ध्यान केन्द्रित गरी अन्तर्राष्ट्रियस्तरक खेलकूद पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम शुरु गरिएको उल्लेख गरेका छन्।
१३औँ दक्षिण एशियाली खेलकूद–साग भव्यताका साथ सम्पन्न भएकामा गर्व गर्दै पूर्वाधार शून्य भएको ठाउँमा विकासका लागि बोलपत्र आह्वान गरेर निर्माणको शुरुआत गरिएको उनले जानकारी गराएका छन्। ‘सागको हामीले गर्व गर्न, तर त्यसको मात्र गुनगान गाएर बस्न हुँदैन, अर्को्तिर जानपर्दछ, हामीलाई नवौँको भन्दा पनि १० औँको बढी चिन्ता छ’, उनले भने, ‘पूर्वाधार शून्य रहेको कर्णालीमा अन्तर्राष्ट्रियस्तरको पूर्वाधार बनाएर प्रतियोगिता गर्नु चुनौती छ, चुनौतीभन्दा ठूलो अवसर हो।’
राष्ट्रिय खेलकूदका लागि पोखरामा निर्माण गर्न बाँकी सुटिङको पूर्वाधार निर्माणका लागि यसै हप्ताभित्र बोलपत्र आह्वान गरिने तथा पौडी पोखरीका लागि आगामी वैशाखभित्रमा सम्पूर्ण प्रक्रिया सम्पन्न गरेर काम शुरु गरिने जानकारी दिएका छन्। राष्ट्रिय खेलकूदका ३५–३६ खेलमध्ये गण्डकीका १० जिल्लामा एक–एक खेल सञ्चालन गर्ने र बाँकी सबै खेल पोखरामै खेलाइने सिलवालको भनाइ छ।
हाल देशभर स्वतस्फूर्त रुपमा खेलकूदका गतिविधि बढ्नु तथा स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा लगानीकर्तामा समेत खेलकूदमा लगानी गरेपछि प्रतिफल आउँदोरहेछ भन्ने महसुस हुन थाल्न सागको सकारात्मक पक्ष रहेको उनको भनाइ छ।
देशका ७७ वटै जिल्लामा विविध विधाका खेल गतिविधि सञ्चालन हुँदा देशमा खेलको माहोल बढेको र साग खेलकूदपछि समेत काठमाडौँको दशरथ रङ्गशाला तथा पोखरा फुटबल रङ्गशालाको काम निर्माणकै चरणमा रहेको बताउँदै उनले सागका बाँकी पूर्वाधार छिट्टै तयार हुने विश्वास दिलाएका छन्।
कार्यक्रममा मञ्चका अध्यक्ष एकराज गिरी तथा महासचिव विजय नेपालले राखेपले खेल पत्रकारको दक्षता, क्षमता विकासका लागि ध्यान दिन आग्रह गरेका थिए। रासस