एजेन्सी – यूईएफए च्याम्पियन्स लिग राउन्ड अफ १६ अन्तर्गत पहिलो लिगमा बुधबार भएको खेलमा जर्मन टोली आरबी लाइप्जिग र इटालियन टोली एटलान्टाले जित दर्ता गरेका छन्।
लाइप्जिगले इंगलिस टोली टोटेनहम हट्स्परको मैदानमा १–० को जित दर्ता गरेको हो। खेलको दोस्रो हाफमा फरवार्ड टिमो वेर्नरले पेनाल्टीमा गोल गर्दै जित पक्का गरेका थिए। ५८ औं मिनेटमा डिफेन्डर बेन डेभिसले मिडफिल्डर कोन्राड लाइमेरलाई लडाएपछि प्राप्त पेनाल्टीमा वेर्नरले गोल गरे। त्यसअघि पहिलो हाफमा लाइप्जिगले उत्कृष्ट सुरुवात गरेपनि गोल गर्न सकेको थिएन।
दोस्रो खेलमा एटलान्टाले घरेलु मैदानमा स्पेनिस टोली भ्यालेन्सियालाई ४–१ ले पराजित गर्यो। खेलको १६ औं मिनेटमा हान्स हाटेबोरले गोल गर्दै एटलान्टालाई अग्रता दिलाए। ४२ औं मिनेटमा जोसिप इलिचिचले अग्रता दोब्बर पारेपछि एटलान्टा सुदृढ अवस्थामा पुगेको थियो।
दोस्रो हाफको ५७ औं मिनेटमा रिमो फ्रयूलर र ६२ औं मिनेटमा हाटेबोरले गोल गरेपछि एटलान्टा ४–० को बलियो स्थितिमा पुगेको थियो। भ्यालेन्सियाका डेनिस चेरेसेभले ६६ औं मिनेटमा गोल गरेपनि उक्त गोल सान्त्वनामा सिमित भयो।
दुवै खेलको दोस्रो लेग मार्च १० मा हुनेछ। यसअघि मंगलबारको खेलमा एटलेटिको म्याड्रिडले लिभरपुललाई १–० ले पराजित गरेको थियो। त्यस्तै बोरुसिया डर्टमुन्डले पीएसजीलाई २–१ ले हरायो।