काठमाडौं, २८ माघ – नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिने मुडमा पुगेका छन्।
सोमबारै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेर सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाउने तयारीमा नेवि संघ अध्यक्ष महर रहेको उनी निकट श्रोतले जनाएको छ।
वि.सं. २०७३ भदौमा नेपाल विद्यार्थी संघको अध्यक्षमा निर्वाचित भएका महरले कार्यकाल पूरा भएपछि पनि महाधिवेशन गर्न नसकेको आरोप खेप्दै आएका छन्।
गत मंसिर अन्तिम साताका लागि निर्धारित महाधिवेशन पनि माऊ पार्टी कांग्रेसको शीर्ष नेताले नचाहदा हुन नसकेको विद्यार्थी नेताहरुको आरोप छ।
अध्यक्ष महरलाई कांग्रेस सभापति देउवाले आइतबार बोलाएर राजीनामा गर्न निर्देशन दिएको श्रोतले जनाएको छ। ‘अध्यक्ष महरले आजै राजीनामा बुझाउनु हुँदैछ,’ महर निकट नेवि संघका एक केन्द्रीय सदस्यले भने, ‘अब के हुन्छ हेरौँ न।’