एजेन्सी– डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा हार बेहारेको छ। मंगलबार राति लिभरपुल घरेलु टोली स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएको हो।
इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल पछिल्लो १५औं खेलमा दोस्रोपटक पराजित भएको हो। कारवाओ कपमा एस्टनभिल्लासँग ५–० ले पराजित भएयता लिभरपुल अपराजित रहेको थियो। यसक्रममा लिभरपुलले एफए कपमा स्रुजवरीसँग २–२ गोलको बराबरी खेलेको थियो। बाँकी १३ खेलमा जित निकाल्न सफल भएको थियो।
घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा एट्लेटिकोको जितमा साउल निग्वेजले पहिलो हाफको शुरुमै गरेको गोल नै निर्णायन बन्न पुगेको थियो। लिभरपुल सम्हालिन नपाउदै खेलको चौथो मिनेटमा नै सउल निग्वेजको गोलबाट घरेलु टोलीले खेलम अग्रता बनाएको थियो। कप्तान कोकेको पासमा निग्वेजले क्लोज रेन्जबाट गोल गर्न सफल भएका थिए।
सुरुवातमै पछि परेपछि लिभरपुलले बल पोजेसनमा पकड जमाउँदै घरेलु टोलीलाई दवावमा राख्दै २६औं मिनेटमा पहिलो आक्रमण बुनेको थियो। रोबर्टाे फिर्मिनोले मोहम्मद सलाहको पासमा गोल गरेपनि उनी अफसाइड ठहरिए। त्यसअघि २५औं मिनेटमा भर्जिल भान डाइकले अल्भेरो मोराटोको प्रहारलाई गोल लाइनबाट क्लियर गरिदिएका थिए।
२९औं मिनेटमा फिर्मिनोको पासमा एन्ड्रिउ रोवर्टसनको प्रहार बाहिरियो। ३५औं मिनेटमा फिमिनोकै पासमा सलाहको प्रहारलाई फिलिपेले ब्लक गरिदिए। ५३औं मिनेटमा सलाहले अर्काे अवसर खेर फाल्दा लिभरपुल बराबरीबाट चुक्यो। ६८औं मिनेटमा अल्भेरो मोराटाले गोलको सुन्दर मौका खेर फाल्दा एट्लेटिको अग्रता दोब्बर पार्नबाट चुक्यो। त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा एट्लेटिको १–० ले विजयी हुन सफल भयो।
अब दोस्रो लेग लिभरपुलको घरेलु मैदान एनफिल्डमा ११ मार्चमा हुनेछ।लिभरपुललाई अघिल्लो चरणमा पुग्न कम्तीमा पनि जित आवश्यक छ। एट्लेटिकोलाई अघिल्लो चरण पुग्न बराबरी नै पर्याप्त हुनेछ।