एजेन्सी– नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको उत्कृष्ट प्रदर्शनमा बोरुसिया डर्टमुन्डले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ।
घरेलु मैदान सिग्नाल इदुना पार्कमा हालान्डले २ गोल गरेपछि डर्टमुन्ड २–१ ले विजयी भएको हो। पीएसजीका लागि नेयमारले गोल गरेका थिए। निकै प्रतिस्पर्धात्मक खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो। हालान्डले जारी सिजन २९ खेलमा नै ३९ गोल गरिसकेका छन्। डर्टमुन्ड आएयता नै उनले ११ गोल गरेका छन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ६९ औं मिनेटमा हालान्डको गोलमा डर्टमुन्डले अग्रता लियो। राफेल गुरेरोको प्रहार ६ यार्ड बक्सभित्र डिफेन्डरलाई लाग्दै फुस्केपछि उक्त बललाई हालान्डले गोलमा परिणत गरेका थिए। ७५ औं मिनेटमा नै नेयमारले किलियन एम्बाप्पेको क्रसलाई सदुपयोग गर्दै गोल गरेपछि खेल बराबरीमा आएको थियो।
तर हालान्डले पीएसजीको अग्रता दुई मिनेट पनि टिक्न दिएनन्। उनले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको शक्तिशाई प्रहार पीएसजीका गोलरक्षक केलर नाभासले बचाउने कुनै मौका पाएनन्। पहिलो हाफमा पनि केहि अवसर पाएका हालान्डले च्याम्पियन्स लिगको आफ्नो उच्च लयलाई कायम राख्न सफल रहे।
खेलको दोस्रो लेग मार्च ११ मा पेरिसको घरेलु मैदानमा हुनेछ। पहिलो लेगको नतिजाले प्रशिक्षक थोमस टुचेलमाथि भने निकै दबाब थपिएको छ। २ सिजन डर्टमुन्डमा बिताएका टुचेलले पीएसजीलाई लगातार ४ सिजनपछि क्वाटरफाइनलमा पुर्याउने लक्ष्य राखेका छन्।