एजेन्सी– क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकर ‘लौरेस स्पोर्टिङ मोमेन्ट’ पुरस्कारबाट सम्मानित भएका छन्। उनलाई जर्मनीको बर्लिनमा आयोजित एक समारोहबीच उक्त पुरस्कारबाट सम्मान गरिएको हो। सन् २०११ मा भारतले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको विश्वकप जितेपछि सचिन तेन्दुलकरलाई टोलीका सदस्यले आफ्नो काँधमा राखेर रङ्गशालामा परेड गराएका थिए।
तेन्दुलकरलाई परेड गराइएको उक्त क्षणले पछिल्लो दुई दशकमा ‘खेलकूदले सर्वसाधारणलाई असाधारण रुपमा एकताबद्ध’ गरेको भन्दै उनलाई पुरस्कृत गरिएको हो। टेनिसका महान खेलाडी बोरिस बेकरले पुरस्कृत हुनेको नाम घोषणा गरेका थिए। उनलाई अष्ट्रेलियाली क्रिकेट टोलीका पूर्वकप्तान स्टिभ वाले ट्रफी हस्तान्तरण गरे।
पुरस्कृत भएपछि तेन्दुलकरले भने, ‘‘पुरस्कृत हुनु अविष्मरणीय क्षण भएको छ, विश्वकप जितेको क्षणलाई शब्दमा उल्लेख गर्न सकिन्न, असाधारण क्षण थोरै आउँछ, जहाँ समग्र देशले नै उत्सव मनाउँछन्।’’ खेलाडीको रुपमा विश्वकप २०११ सचिन तेन्दुलकरको छैठौं तर अन्तिम विश्वकप थियो।